Kathmandu Press

नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह

मन्त्री डा.राणाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन मन्त्री राणाले आग्रह गरिन्। 
नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाडौं, फागुन १५ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको सदस्यका लागि नेपाललाई मतदान गर्न आग्रह गरेकी छन्। 

मन्त्री राणाले परिषदको ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेक्रममा विश्व समुदायलाई आग्रह गरेकी हुन् । मन्त्री डा. देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवम् प्रतिनिधिहरुलाई सो आग्रह गर्दै परिषद सदस्यमा नेपाललाई मतदान गर्न भनेकी छन्। 

मन्त्री डा.राणाको सम्मान एवम् जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरुका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नेक्रममा सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन मन्त्री राणाले आग्रह गरिन्। 

Hardik ivf

समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसङ्घीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित रहेको जनाइएको छ।  

समारोहलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, ‘नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानअधिकारको पक्षमा अडिग छ। मानवअधिकारको रक्षा र प्रवद्र्धनमा हामीले विगत लामो समयदेखि काम गरिरेहका छौँ । यही प्रतिबद्धताका साथ नेपालले यस परिषदको आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उम्मेदवारी दिएको छ। संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्दछु।’

मन्त्री राणाले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका अधिकारहरूलाई मौलिक हकका रुपमा समेटेको पनिदबताइन्। उनले नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको समेत बताइन्। 

उक्त अवसरमा उनले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको बताउँदै मन्त्री राणाले शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पनि छिट्टै टुङ्ग्याउने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी समेत गराइन्। 

यस्तै, पछिल्लो समय नेपालले बाल, महिला तथा अल्पसङ्ख्यकहरुको अधिकारका साथै समावेशिताका क्षेत्रमा उपलब्धिहरु हासिल गरेको पनि जानकारी पनि उनले गराइन्। 

साथै, राणाले नेपालको वर्तमान सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रहेको समेत प्रश्ट गरिन् । मन्त्री डा.राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन्। 
 

प्रकाशित मिति: १५:०० बजे, बिहीबार, फागुन १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्