उपकुलपति सिफारिस यथाशीघ्र टुंगो लगाउन विश्वविद्यालयका १३ पदाधिकारीको ध्यानाकर्षण
काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले ध्यानाकर्षण गराएका छन्।
काठमाडौं, फागुन १४ : काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले ध्यानाकर्षण गराएका छन्।
उपकुलपति खोज तथा सिफारिस समितिलाई विश्वविद्यालयका १३ पदाधिकारीले संयुक्त रूपमा पत्र पठाउँदै ध्यानाकर्षण गराएका हुन्।
उनीहरूले विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन माग गरेका छन्।
ध्यानाकर्षण पत्रमा उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षता माथि प्रश्न उठेको जनाइएको छ।
यस्तै, विश्वविद्यालयका पदाधिकारीले उपकुलपति छनोटका लागि बनाइएका कार्यविधि तथा मापदण्डका आधारमा तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस हुने विश्वास समेत व्यक्त गरेका छन्।
ध्यानाकर्षणपत्रमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्राडा बालचन्द्र लुइँटेल, एशोसिएट डिनद्वय प्राडा प्रकाशचन्द्र भट्टराई र प्राडा हेमराज काफ्ले, स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन, एशोसिएट डिन डा.उद्धव प्याकुरेल, स्कुल अफ म्यानेजमेन्टका डिन प्राडा विजय केसी, एशोसिएट डिन डा.खगेन्द्र आचार्य, स्कुल अफ मेडिकल साइन्सेज डिन प्राडा मनोज हुमागाईँ, स्कुल अफ साइन्सका कायममुकायम डिन प्राडा उज्ज्वलमान जोशी, स्कुल अफ लका डिन प्राडा ऋशिकेश वाग्ले, एशोसिएट डिन डा. शिवकुमार गिरी र स्कुल अफ इन्जिनियरिङका एशोसिएट डिनद्वय डा. श्यामसुन्दर खड्का र प्राडा बालकृष्ण बलको हस्ताक्षर छ।











