Kathmandu Press

दुई दिनमा एकै गाउँका चारजनाको मृत्यु, स्थानीय त्रसित

महोत्तरी, वैशाख १७ : महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएको छ। मृत्युपछि गाउँमा त्रास छाएको छ। ....

दुई दिनमा एकै गाउँका चारजनाको मृत्यु, स्थानीय त्रसित

महोत्तरी, वैशाख १७ : महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएको छ। मृत्युपछि गाउँमा त्रास छाएको छ। भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मंगलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए।

उनका अनुसार एकपछि अर्को गरी स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गंगाराम सदाको मृत्यु भएको हो। वडाध्यक्ष थारुले चारैजनाले रक्सी पिउने गरेका र गाउँमा अत्यधिक मात्रामा रक्सी उत्पादन भइरहेकाले उनीहरुको विषाक्त रक्सी सेवनबाट मृत्यु भएको हुन सक्ने आशंका गरेका छन्।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलका अनुसार शव परीक्षण नगरी उनीहरुको मृत्यु रक्सी सेवनबाटै भएको निष्कर्षमा पुग्न सकिँदैन। प्रहरी उपरीक्षक अधिकारीले घटनाको जानकारी प्राप्त भएलगत्तै सो गाउँमा व्यापक प्रहरी परिचालन गरेर बुझ्न लगाउँदा मृतकमध्ये तीनजनाको दाहसंस्कार भइसकेको छ।  मृतक लालबाबु सिंहको शव जलाउनु अघि प्रहरीले नियन्त्रण गरेकोले परीक्षणको लागि अस्पताल पठाइएको छ। 

प्रहरीले मृतकमध्ये लालबाबु सिंहको घरबाट रक्सी बरामद गरेको छ। स्थानीय रामपुकार सिंहको घरमा मदिरा बनाउने भट्टी तथा मदिरा तयार गर्न राखिएको ८०० लिटर कच्चा पदार्थसमेत बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति: १४:०८ बजे, बुधबार, वैशाख १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्