बेवारिसे बन्यो नागदह, जान छाडे पर्यटक
'सम्बन्धित निकायको ध्यान नपुग्दा स्थानीयको लुगा धुने र नुहाउने ठाउँ बन्यो'-ink-1740494537.jpeg)
काठमाडौ, फागुन १३ : ललितपुर महानगरपालिको धापाखेलस्थित नागदह ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पोखरी हो। प्राकृतिक र सांस्कृतिक दृष्टिले मनमोहक यो पोखरी पर्यटकको पर्खाइमा छ।
केही समय अगाडि नागदह अवलोकन गर्न आउने आगन्तुकका लागि डुङ्गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो। तर अहिले न त्यहाँ डुङ्गा चल्छ न त पर्यटकको चहलपहल नै देख्न सकिन्छ।
ललितपुरको २४ वडामा अवस्थित यो ऐतिहासिक एवम सांस्कृतिक स्थल पूरै प्रदुषणको चपेटामा छ। पोखरीको पानीमा स्थानीयबासीले खुलमखुल्ला रुपमा लुगा धुने र नुहाउने गरेको देखिन्छ।
दहको वरिपरि फोहोर देख्न सकिन्छ। वेवारिसे अवस्था रहेको उक्त दहको सरसफाइमा सम्बन्धित निकायको ध्यान जान नसकेको नागदह संरक्षण तथा सुधार समितिका पूर्वअध्यक्ष गणेश श्रेष्ठ बताउँछन्।
-ink-1740494538.jpeg)
कुनै समय आन्तरिक र बाह्य पर्यटकको आकर्षक केन्द्र नागदह अहिले सुनसान रहेको पूर्वअध्यक्ष श्रेष्ठले बताए।
उनका अनुसार लगभग १३ वर्ष अगाडि बैशाखमा नागदहमा सयर गरिरहेका चार जना यात्रुहरु डुङ्गा डुबेर मृत्यु भएपछि त्रासको वातावरण छ।
‘त्यसबेला डुंगामा पानी छिरेर सयर गरिरहेका यात्रुहरु दहमा डुबेका थिए। त्यसपछि यहाँ त्रासको वातावरण बन्यो। त्रासलाई चिर्ने किसिमका गतिविधि गर्न कसैले ध्यान दिएनन्। त्यही समयदेखि नै आन्तरिक र बाह्य दुबै पर्यटकहरु घट्दै गएको हो,’ उनले भने।
-ink-1740494537.jpeg)
‘१३ वर्ष पहिले डुङ्गामा पानी छिरेर चार जनाको मृत्यु भएको थियो। डुङ्गामा पानी कसरी छिर्यो भन्ने थाहा भएन। तर त्यो काठको डुङ्गा थियो। त्यसबेलादेखि पर्यटकको संख्या घट्दै गयो। पर्यटक आकर्षित गराउने गतिविधितर्फ सरकारको पनि ध्यान गएको छैन्। त्रास कम गराउने प्रयास भएको छैन्। नयाँ पिँडीले पनि ध्यान दिएनन्,’ उनले भने।
लगनखेलबाट नागदह चार–साढे चार किलोमिटर मात्र टाढा रहेको हिसाबले झन धेरै पर्यटक आउनुपर्ने वा चहलपहल हुनुपर्नेमा न्यून हुनु दुःखद भएको उनले बताए।
-ink-1740494538.jpeg)
उनले भने,‘लगनखेलबाट नागदह धेरै टाढा पनि छैन्। चार–साढे चार किलोमिटर छ। त्यो हिसाबले त मान्छे टन्नै आउनपर्ने हो, चहलपहल धेरै हुनुपर्ने हो। विगतमा चहलपहल राम्रै थियो। तर अहिले त शून्य नै भन्नुपर्छ। नागदहको संरक्षणको लागि पूरै समय दिएर काम गर्ने समिति नआएसम्म केही हुँदैन् र कम्तिमा पनि २० जनाको टीम चाहिन्छ। नागदहलाइ व्यवस्थित गर्न, सरसफाइदेखि लुगा धुनेसम्मका कामलाई व्यवस्थित गर्ने काममा युवाहरुले अगुवाइ गर्नुपर्छ।’
बासुकी नागराजको बास भएको विश्वास गरिने नागदहमा वर्षमा दुईपटक भने भव्य मेला लाग्ने गर्दछ। नागपञ्चमी र ऋषिपञ्चमीमा दुई पटक भव्य मेला लाग्ने गरेको श्रेष्ठले बताए।
पहिलेजस्तो निस्वार्थ भावनाले स्वयंमसेवकको रुपमा काम गर्ने मानिसको अभाव हुँदा पनि नागदहमा आन्तरिक र बाह्य दुवै पर्यटक खस्किँदो अवस्थामा रहेको उनको ठम्याइ छ।
-ink-1740494539.jpeg)
राज्यले सिस्टममा र कागजी रुपमा जति व्यवस्था गरेपनि व्यवहारिक रुपमा त्यसको कार्यान्वयन गर्न नसकेको उनको गुनासो छ। ऐतिहासिक पोखरीहरुलाई कसरी संरक्षण र प्रवद्र्धन गर्ने भन्ने राज्यको दृष्टि नै सही नभएको उनको भनाइ छ।
‘नेपालमा सिस्टम छ तर कागजमा सिमित छ। व्यवहारिक कार्यान्वयन छैन्। पाँच छ महिना अगाडि समितिलाई पुनःगठन गरिएको थियो। जुन आफै दर्ता छैन्। स्वंयमसेवकहरुको अभाव छ। पोखरीहरुलाई कसरी संरक्षण र संर्वधन गर्ने भन्ने राज्यको दृष्टि नै छैन्’, उनले भने।
नागदह ५२ रोपनी क्षेत्रफलमा रहेको भन्ने गरिन्छ तर आफूले धेरै पटक नाप्दा ५० रोपनी दुई आना क्षेत्रफलमा रहेको पाइएको उनले बताए।











