Kathmandu Press

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन्।
महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

काठमाडौं, फागुन १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन्।

उनले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए।

उनका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए।

हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रसन्नता व्यक्त गरेका थिए।

महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिमा भव्य मेला तथा पूजाअर्चना हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ।

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, फागुन १३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्