Kathmandu Press

परराष्ट्रमन्त्री डा.राणा जेनेभामा द्विपक्षीय भेटवार्तामा व्यस्त

मन्त्री डा. राणाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेको बताउँदै त्यसपछिको अवस्थामा नेपाललाई आवश्यक पर्नसक्ने सहयोगका लागि पनि विभिन्न देशका आफ्ना समकक्षीहरू तथा मन्त्रीहरूसँग आग्रह गरेको जनाइएको छ। 
परराष्ट्रमन्त्री डा.राणा जेनेभामा द्विपक्षीय भेटवार्तामा व्यस्त

काठमाडौं, फागुन १३ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहेकी छन्।

परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभा पुगेकी हुन् । मन्त्री राणाले उक्त सभामा सहभागी हुन आएका विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरूसँग साइडलाइन भेटवार्ता गरेकी छन्। 

परराष्ट्र मन्त्रीको सचिवालयका अनुसार भेटवार्ताका क्रममा मन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषदको सदस्य एवम् सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिएकाले सहयोगका लागि आग्रह गरेकी छन्। 

Hardik ivf

यस्तै, उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेको र सो कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायलाई सामेल गराउने योजना बनाएकाले त्यसमा सहभागिताका लागि पनि आफ्ना समकक्षी तथा नेताहरूलाई आमन्त्रण समेत गरेकी छन्। 

मन्त्री डा. राणाले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेको बताउँदै त्यसपछिको अवस्थामा नेपाललाई आवश्यक पर्नसक्ने सहयोगका लागि पनि विभिन्न देशका आफ्ना समकक्षीहरू तथा मन्त्रीहरूसँग आग्रह गरेको जनाइएको छ। 

सोही क्रममा मन्त्री राणाले सोमबार नर्वेका उपविदेशमन्त्री एन्ड्रे क्राभिकसँग भेटवार्ता गरेकी थिइन् । त्यसक्रममा उनले नर्वेले नेपालको शान्ति प्रक्रियाका साथै नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् । साथै, नेपालले जलवायु परिवर्तनका कारण आफूलाई परेको असर तथा जलवायु न्यायका बारेमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आएकाले त्यसमा सहयोगका लागि पनि नर्वे सरकारको सहयोगको अपेक्षा समेत गरिन्। 

यस्तै, मन्त्री डा.राणाले किर्गिज रिपब्लिकका उपप्रधानन्त्री एडिल बइसालोभसँग पनि भेटवार्ता गरेकी थिइन् । त्यस अवसरमा जलवायु परिवर्तनको असर तथा हिमाल र पहाडका एजेन्डाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा रूपमा अघि बढाउने विषयमा कुराकानी भएको जनाइएको छ। 

मन्त्री राणाले फिलिपिन्सका उपविदेशमन्त्री चाल्र्स सि जोसेसँग पनि भेटवार्ता गरेकी छन् । भेटमा उहाँहरूबिच नेपाल फिलिपिन्स सम्बन्धका विविध पक्षका साथै साझा हित र चासोका बारेमा कुराकानी भएको थियो । त्यसक्रममा फिलिपिन्ससँग जलवायु परिवर्तनका ऐजेन्डामा दुवै देश आगामी दिनमा साझा ऐजेन्डाका साथ कसरी अघि बढ्ने भन्ने विषयका अतिरिक्त अरू पनि साझा हितका बारेमा कुराकानी भएको थियो 

त्यसअघि मन्त्री डा.राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई नेपालका तर्फबाट सम्बोधन गरेकी थिइन् । सम्बोधनकाक्रममा उनले नेपाल आगामी सन् २०२७ देखि २०२९ को कार्यकालका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषदको सदस्यको उम्मेदवारी घोषणा पनि गरेकी थिइन्। 

उक्त सत्रलाई सम्बोधन गर्ने क्रममा मानवअधिकारको संरक्षण र सम्वर्धनका क्षेत्रमा नेपालले व्यक्त गर्दै आएको प्रतिबद्धताको चर्चा गर्दै नेपालले सदस्य पदमा दिएको सो उम्मेदवारीमा सहयोगका लागि सबै सदस्य राष्ट्रहरूलाई आग्रह पनि गरिन्। 

राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका मन्त्री तथा नेताहरूको सहभागिता रहेको छ। राष्ट्रसङ्घीय मानवअधिकार परिषदको यस उच्चस्तरीय सत्रमा सहभागी विश्वका नेता तथा मन्त्रीहरूले मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपालको भूमिका तथा शान्ति प्रक्रियामा नेपालले अपनाएको मोडल उदाहरणीय भन्दै सराहना गरेका थिए। 

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, फागुन १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्