भारत, भूटान र माल्दिभ्सका एनसिसी प्रतिनिधिले राष्ट्रपति पौडेललाई भेटे
प्रतिनिधिमण्डलले महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुने छ।
काठमाडौं, फागुन १३ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले मंगलबार शितलनिवासमा भेट गरेका छन्।
युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन भारत, भूटान र माल्दिभ्सको ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) को प्रतिनिधिमण्डल नेपाल आएको हो। उक्त प्रतिनिधिमण्डलले महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुने छ।
युवा आदान–प्रदान कार्यक्रमले एकापसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको बुझाइमा सहयोग पुग्ने तथा आपसी सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।
फागुन ९ गते नेपाल आएको सो भ्रमण टोलीमा ३४ जना प्रतिनिधि रहेको जनाइएको छ। राष्ट्रपति कार्यालयका अनुसार भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीरपाल सिंह, भूूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन र माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी छन्।











