नेपाल बारको नयाँ नेतृत्वका लागि निर्वाचनको तालिका सार्वजनिक, फागुन २२ मनोनयन दर्ता
उम्मेदवारीको दरखास्त फागुन २२ गतेका लागि तय भएको छ। दरखास्तका लागि बिहान ११ बजेदेखि साँझ ३ बजेसम्मको समय तोकिएको छ।
काठमाडौं, फागुन १२ : नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि निर्वाचनको तालिका सार्वजनिक भएको छ।
आगामी चैत २३ गते हुने बारको २७ औं केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो।
बार निर्वाचन समितिका अनुसार मतदाता नामावली फागुन १५ गते बिहीबार ११ बजे सार्वजनिक हुनेछ भने नामावलीमा दाबी विरोध फागुन १८ गते आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय तोकिएको छ।
दाबी विरोधमाथि जाँचबुझ गर्ने समय फागुन २० गते मंगलबार ११ बजेसम्म तोकिएको छ।
मतदाताको अन्तिम नामावली फागुन २० गते मंगलबार नै अपराह्न ४ बजे प्रकाशित गरिने छ। उम्मेदवारीको दरखास्त फागुन २२ गतेका लागि तय भएको छ। दरखास्तका लागि बिहान ११ बजेदेखि साँझ ३ बजेसम्मको समय तोकिएको छ।
बारको अध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्तिले ६० हजार रुपैयाँ धरौटी बुझाउनु पर्नेछ। उपाध्यक्ष पदका उम्मेदवारले ४० हजार, कोषाध्यक्षले ४० हजार, सदस्यहरूले ३० हजार रुपैयाँ धरौटी शुल्क बुझाउनुपर्नेछ। नेपाल बारमा अध्यक्ष, उपाध्यक्ष आठ, महासचिव, कोषाध्यक्ष, १४ सदस्य पदमा निर्वाचन हुँदैछ।












