Kathmandu Press

सरकार फेर्नेतिर लाग्दैनौं, त्यसको कसरत पनि गर्दैनौं: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने बताएका छन्।
सरकार फेर्नेतिर लाग्दैनौं, त्यसको कसरत पनि गर्दैनौं: प्रचण्ड

झापा, फागुन १२ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने बताएका छन्।

पार्टीले आज यहाँको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गरे।

'सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ,' उनले भने, 'हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौँ।'

Hardik ivf

विगतमा नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्दा पार्टीले जनतासँगको सम्बन्धबाट विमुख हुनुपरेको जनाउँदै उहाँले हिजोका दिनमा भएका कमी कमजोरीप्रति आत्मालोचना र समीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।  

उनले सबै जातजाति तथा भाषाभाषीसँगको सम्बन्धलाई प्रगाढ बनाउन र एकता कायम गर्ने उद्देश्यले जागरण अभियान सुरुवात गरेको बताए।

आगामी आम चुनावमा पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै उनले यसअघि माओवादीसँग सहकार्य गरेर एमाले र कांग्रेस ठूलो पार्टी बनेको स्मरण गराए।

'जुनबेला हामीले उनीहरुसँग सहकार्य ग-यौँ, उनीहरु नै ठूला पार्टी बने । तर, जुनबेला हामी एक्लै चुनाव लडेका थियौँ, त्यसबेला जनताले हामीलाई ठूलो पार्टी बनाएका थिए ,' उनले भने।

झापाका जनताले भोगिरहेको जङ्गली हात्तीको समस्या समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन नसकेको उनले बताए। अध्यक्ष दाहालले चिया किसान र श्रमिकका समस्या समाधान खोज्न पार्टीले अगुवाई गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले आफु दोस्रोपटक प्रधानमन्त्री भएर झापामा सुरुवात गरेको धान सुपरजोन परियोजना हाल बन्द रहेकोमा चिन्ता व्यक्त गरे।

 कचनकबलबाट सुरु भएको जनतासँग तराई मधेश जागरण अभियान आगामी चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने पार्टीका झापा इञ्चार्ज रञ्जित तामाङले जानकारी दिए।

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्