नगर प्रमुखको छोराबाट कुटाइ खाएका हाकिमलाई काममा अवरोध नगर्न अदालतको आदेश
उच्च अदालत जनकपुरका न्यायाधीश खेमराज भट्टको इजलासले फागनु १३ सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाजमा अवरोध नगर्न भनेको हो।-1740160099.jpg)
धनुषा, फागुन १० : उच्च अदालत जनकपुरले धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार साहलार्ई कार्यालय हाजिर गराउन नरोक्न र सहज रुपमा कार्यालयमा काम गर्ने बातावरण मिलाउन आदेश दिएको छ।
विदेह नगरपालिकाका मेयर र बेचन दासले कार्यालय प्रवेशमा अवरोध गरेको र कार्यालय प्रवेशमा प्रहरीले सहयोग नगरेको भन्दै साहले उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए।
सो रिटको सुनुवाई गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश खेमराज भट्टको इजलासले फागनु १३ सम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाजमा अवरोध नगर्न भनेको हो।
साहले गत फागुन २ गते निमित्त प्रमुख प्रशासकीय अधिृकतको जिम्मेवारी पाएका थिए । निमित्तको हैसियतमा कार्यरत साहलाई माघ २८ गते नगरप्रमुख दासका छोराले हातपात गरेका थिए।
हातपात भएकै दिन साहले नगरपाकिलाका ८० भन्दा बढी कर्मचारीलाई स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने तह वृद्धि रोक्का राख्ने, नियुक्ति बदर गर्नेलगायतका काम गरेको आरोप छ।
यो प्रकरणमा विवाद वढ्दै गएपछि साहलाई नगरपालिकामा हाजिर हुन दिइएको थिएन।
हाजिर गर्न नदिएपछि जिल्ला प्रशासन कार्यालय पुगेका साहलाई प्रमुख जिल्ला अधिकारीले ४ दिनसम्म कार्यालयमा उपस्थित भएर काम गर्न वातावरण नबनाइदिएपछि साहले उच्च अदालतमा रिट दायर गरेका थिए।
विवाद भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव मोहनकुमार श्रेष्ठलाई खटाइसकेको छ।