Kathmandu Press

नोरदेन रुम्बाका गीत सुनाउँदै चन्दन-डेजी-विमोचना

हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको आरसालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङ्को सुविख्यात साङ्गीतिक परिवार प्रस्तुत हुने भएको छ।
नोरदेन रुम्बाका गीत सुनाउँदै चन्दन-डेजी-विमोचना

काठमाडौं, फागुन ९ :  हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रवार नेपालयको आरसालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटीमा यस पटक दार्जिलिङ्को सुविख्यात साङ्गीतिक परिवार प्रस्तुत हुने भएको छ।

यस महिनाको कार्यक्रमका निम्ति सङ्गीतकार चन्दन लोमजेलले दार्जिलिङ्का सुप्रसिद्ध गीतकार नोरदेन रुम्बाका गीतमा धुन भरेर ल्याएका छन्।

जसलाई लोकप्रिय स्वर-सिल्पी डेजी बराइली र विमोचना लोमजेलले गाउने छन् । यो कार्यक्रम एउटै परिवारको पुरानो र नयाँ पुस्ताको साङ्गीतिक सङ्गम पनि हुनेछ।

Hardik ivf

पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो ।

नोरदेन रुम्बा दार्जिलिङको नेपाली साहित्यिक जगतमा स्थापित नाम हो । रुम्बाले दार्जिलिङ बसेर गरेका सृजनाले नेपाली साहित्यिक क्षेत्रको धुरी अग्लिएको छ । सन् १९४९ मा दार्जिलिङमै जन्मिएका गीतकार रुम्बा ४० वर्षको उमेरसम्म मात्र भौतिक रुपमा यस संसारमा रहे तर उनले छाडेर गएका साहित्यिक रचना र गीतहरूले अझै पनि नेपाली कला जगतलाई गुन लगाइरहेका छन् ।

सङ्गीतकार चन्दन लोमजेलकै धुनमा मूर्धन्य नेपाली गायक नारायणगोपालले स्वर दिएको 'मेरा सबै रात अब, मातहरू भए' गीत नोर्देन रुम्बाकै सृजना हो । त्यस्तै सङ्गीतकार कर्म योञ्जनको धुनमा अरुणा लामाले गाएको 'फूललाई सोधेँ, कहाँ गयौ कता गयौ भमरा' सङ्गीतकार बद्री-दुर्गा खरेलको धुनमा रहेका 'गाइने दाइलाई सुनकेशरीको केश सोध्नै भुलेँ' र दावा ग्याल्मोले स्वर दिएको ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछु' नोर्देन रुम्बाकै शब्द हुन्।

सङ्गीतकार चन्दन लोमजेलकै धुनमा डेजी बराइलीले स्वर दिएका - ‘कति बग्यो कति बग्यो, पुलमुनि पानी रेसम' साथै नेपालको लोकरक व्याण्ड नेपथ्यले गाएको 'कसैले सोधे कुन हो तिम्रो गाऊँ' पनि नोरदेन रुम्बाकै सृजना हुन् ।

यो महिनाको पलेँटीमा भने उनले लेखेका तर आजसम्म कतै रेकर्डमा नआएका गीतहरू प्रस्तुत हुनेछन् । यसपालीको पलेँटी बारे कार्यक्रम संयोजक आभास भन्छन् – 'नोर्देनले आफ्नो जीवनको उत्तरकालमा रचेका रचनाहरू सङ्गीतकार चन्दन लोमजेलसँग थन्किएका छन् भन्ने जानकारी हामीलाई भयो । त्यसपछि हामीले चन्दनजीलाई अनुरोध गरेर ती रचनालाई नेपाली सङ्गीतप्रेमी माझ ल्याउने जमर्को गरेका हौं ।'

पहिलो पल्ट सन् २००६ मा पलेँटी कसेका चन्दन भन्छन् – 'पलेँटीले पुराना सर्जकहरूका रचनालाई सरक्षण गर्ने जुन उद्देश्य राखेको छ त्यसबाट प्रभावित भएर नै यसपाली पनि पलेँटीमा आएका छौं । गीतकार दाजु नोरदेन रुम्बाका रचना पलेँटीमा सरक्षण गर्ने उदेश्य सुन्ने बित्तिकै हौसिएको म यहाँ आएर वाद्यवादकहरूसँग अभ्यास गरिरहँदा झन् हौसिएको छु ।'

आफ्नो खुसी व्यक्त गर्दा चन्दनको कालो टोपीमा उनिएको खुकुरीको निसान टलक्क टल्किरहेको देखिन्थ्यो ।

चन्दन झैँ सन् २००६ मै पहिलोखेप पलेँटीमा आएकी डेजी बराइली भन्छिन् - 'पहिलोपाली पलेँटीमा आउँदा त यो कार्यक्रमका बारेमा अनभिज्ञ थिएँ । त्यसपछि आइरहन मन लाग्थ्यो र बेलाबखत आइ पनि रह्यौ । कोविड महामरीपछि भने आउने चाहना र योजना हुँदा हुँदै पनि आउन पाइएन । अहिले यहाँ आइपुग्दा त सपनै जस्तो लागेको छ ।'

उनी थप्छिन् – 'त्यतिबेला विमोचना सानै थिइन: अहिले हेर्नु त ! सँगसँगै गाउने गरी आएकी छिन् ।'

आफ्नो जिन्दगीको सबैभन्दा पहिलो स्टेजको सम्झना गर्दै विमोचना लोमजेल भन्छिन् – 'त्यो बेला संजोगले मैले पलेँटीको स्टेजमा गाउने मौका पाएकी थिएँ । सायद त्यही दिनले गर्दा होला म पनि गायन क्षेत्रमै रमाइ रहेकी छु । आज आफ्नो उही पहिलो स्टेजमा आइपुग्दा साह्रै खुशी लागेको छ ।

हामी परिवार नै एकसाथ यति लामो कन्सर्टमा उत्रन लागेको यो नै पहिलो मौका हो ।' उनी थप्छिन् – 'बाबा आमासँग एउटै मञ्चमा उत्रन पाउनु एउटा खुशी, फेरि यस्ता गहकिला शब्द गाउन पाउनु अर्को खुशी ।'

पलेँटी कार्यक्रम यही फेब्रुअरी महिनाको अन्तिम शुक्रबार: २८ तारिख र मार्च १ तारिख: शनिवारका दिन आयोजना हुनेछ।

कालिकास्थानस्थित नेपालयको 'आर'सालामा हुने यस कार्यक्रमको टिकट  www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।                

प्रकाशित मिति: २०:५४ बजे, शुक्रबार, फागुन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्