प्रधानमन्त्री कार्यालयको मूल्यांकनप्रति मन्त्री दाहालको असन्तुष्टि
उनले मन्त्रालयबाट भएका कामहरुको विवरण प्रस्तुत गर्दै अवधीभित्र काम सकाउन नसक्नु भने कमजोरी भएको बताए।
काठमाडौं, फागुन ९ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयले काम नै नगरेको भन्ने कुरा सही नभएको बताएका छन्।
शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय÷आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति(अर्धवार्षिक)को बारेमा छलफलमा उनले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकनको प्रणालीमा सुधार गर्नुपर्ने भन्दै एउटा योजनालाई हेरेर काम थोरै भयो भन्नु बेठिक भएको बताए।
‘हाम्रो प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकनको प्रणालीमा पनि अलिकति सुधार गर्नुपर्छ। त्यो पनि हामी सुझाव दिन्छौं। किनभने प्राविधिक तरिकाको मूल्यांकनले कुनैपनि कुराहरु हुँदैन। जम्मा १९ वटा क्रियाकलाप मध्ये ८ वटा सुरु हुन लागेका छन्, तीन वटा सम्पन्न भए र ८ वटा चालू छन् । १९ वटामा ११ वटाको काम भएको छ भनेपछि त यसबीचमा लगभग ५७ प्रतिशत काम भएको थियो,’ उनले भने, Եहरेक महिना काम भएको छ र काम हुने सन्दर्भमा प्रगति बढ्दै जान्छ। तर कुनै एउटा योजनालाई हेरेर काम थोरै भयो भन्नु बेठिक हो।’
उनले मन्त्रालयबाट भएका कामहरुको विवरण प्रस्तुत गर्दै अवधीभित्र काम सकाउन नसक्नु भने कमजोरी भएको बताए।
‘ग्वार्को फ्लाईओभरको ८२ प्रतिशत काम भएको छ। माघ मसान्तसम्म काम सम्पन्न गर्न नसकेको हो । तर यसमा काम जिरो प्रतिशत भएको छ भन्ने होइन नि । त्यसैगरि सिद्धबाबा सुरुङ्मार्ग ११ सय २६ मिटर खन्ने काम सम्पन्न भएको छ । मध्यपहाडी, हुलाकी राजमार्ग, कालीगण्डकी करिडोर विभिन्न खण्डमा ५६ किलो मिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको रहेछ । ७८.५ किमी सम्पन्न भएको रहेछ,’ मन्त्री दाहालले भने, ‘माघ १७ सम्ममा ३७ वटा सडक, पुल बनाउने भन्ने लक्ष्य राखेको रहेछ। त्यसमा ४१ वटा सम्पन्न भएको रहेछ । भनेपछि यसरी धेरै धेरै कामहरु पनि भएका छन्।’
मन्त्रालयले धेरै कामहरु गरेको र काम गर्ने प्रयास गरेको भन्दै हतारमा होईन अध्ययन गरेर मात्र मूल्यांकन गर्न आग्रह गरेका छन्।












