पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति लोकतन्त्रको गहना : गगन थापा
‘पूर्वराजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रूपमा लिनुपर्छ। दलहरूले राजनीतिक कर्ममा सुधार गरेर त्यसको जवाफ दिनुपर्छ।’
माेरङ, फागुन ९ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन ७ गतेको सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रूपमा लिनुपर्ने बताएका छन्।
शुक्रबार विराटनगर आएका महामन्त्री थापाले भने, ‘पूर्वराजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रूपमा लिनुपर्छ। दलहरूले राजनीतिक कर्ममा सुधार गरेर त्यसको जवाफ दिनुपर्छ।’
पत्रकारको अर्को एक जिज्ञासामा थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुने बताए। उनले भने, ‘महाधिवेशनको तयारी सुरु भइसकेको छ। तोकिएको समयमा नै सम्पन्न हुन्छ।’
महामन्त्री थापाले अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गरी अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे।
थापाले सरकारमा संलग्न पार्टी भित्रैबाट सरकारको आलोचना र खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने पनि बताए।












