यस्ता छन् रास्वपा सचिवालय बैठकले गरेका ७ निर्णय
बिहीबार पार्टी केन्द्रीय कार्यालय च:मतिमा बसेको सचिवालय बैठकले पार्टीको सांगठानिक र समसामयिक राजनीतिक विषयमा विभिन्न निर्णय गरेको हो।
काठमाडौं, फागुन ८ : राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न ७ निर्णय गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च:मतिमा बसेको सचिवालय बैठकले पार्टीको सांगठानिक र समसामयिक राजनीतिक विषयमा विभिन्न निर्णय गरेको हो।
यस्ता छन् निर्णयहरूः
१. बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितिकाबारे समीक्षा प्रस्तुत गर्नुभयो । पार्टीले सदनमा उठाउनुपर्ने प्रधान राष्ट्रिय मुद्दाहरु र जनजीविकाका सवालहरुमा सुझावहरु लिंदै सदनलाई जनता र राष्ट्रप्रति थप जवाफदेही बनाउन प्रयत्नशील रहने विषयमा छलफल गरियो ।
२. बैठकले पार्टीका विविध गतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न देहाय नियमावली तथा कार्यविधिहरु पारित गरेको छ ।
क. प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१,
ख. र्यापिड एक्सन टीम र्याट नियमावली २०८१,
ग. सम्पर्क विभाग नियमावली २०८१,
घ. निर्वाचन आयोगको नियमावली २०८१,
ङ. पालिका अधिवेशन कार्यविधि २०८१
३. पार्टीका केन्द्रीय पदाधिकारीहरुको संलग्नतामा फागुन तेश्रो सातादेखि सातै प्रदेशमा राष्ट्रिय तथा सामाजिक जीवनमा महत्वपूर्ण व्यक्तित्वहरुलाई भेटघाट/संवाद गर्ने सर्वाङ्गीण संवादको तयारीका लागि प्रदेश समितिहरुलाई निर्देशन दिइएको छ ।
४. पार्टीको केन्द्रीय सदस्यहरुको राजनीतिक अभिमुखीकरणका लागि फागुन ९ र १० गते आयोजना हुन गइरहेको केन्द्रीय प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि आवश्यक तयारी भएको र क्रमश: प्रदेश, जिल्ला र पालिका तहसम्म यस्तो प्रशिक्षण सञ्चालन गर्दै जाने ।
५. पार्टीको केन्द्रीय संगठन विभाग सदस्यमा श्री कृष्णमान श्रेष्ठलाई मनोनयन गरिएको छ । बागमती प्रदेश समितिको रिक्त सहमहामन्त्रीको जिम्मेवारीमा प्रदेश समितिबाट प्राप्त सिफारिस बमोजिम श्री कविन्द्र कार्की (काठमाडौं) र श्री राधिका तिमल्सिना (चितवन) लाई अनुमोदन गरियो ।
६. पार्टीका पदाधिकारी तथा सदस्यहरुको कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी कार्यविधि तयार गरी १५ दिनभित्र पेश गर्ने ।
७. त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा आउँदो चैत ५ गते सम्पन्न हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विशुद्ध विद्यार्थीहरु मात्र संलग्न हुनुपर्ने, शैक्षिक प्रतिष्ठान राजनीतिमुक्त हुनुपर्ने पार्टीको नीति भएकोले उक्त निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार नहुनेसाथै पार्टीको कुनै संलग्नता समेत रहने छैन । उक्त विद्यार्थी युनियनको चुनावलाई स्वस्थ रुपमा सञ्चालन गर्न सम्बन्धित सबैमा अपील गर्दछौं ।












