मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताएका छन्।
गोरखा, फागुन ८ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई समृद्ध देश बनाउन सकिने आधार तयार हुँदै गएको बताएका छन्।
गोरखाको पालुङटार नगरपालिका–१०, मिरकोटमा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव–२०८१ को उद्घाटन गर्दै उनले देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न योजनाबद्ध पहल थालिएको बताए।
'कृषि उत्पादन, पर्यटन विकास र आर्थिक क्रियाकलाप बढाउँदै युवाका लागि देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न हाम्रो पार्टीले पनि योजनाबद्ध पहल थालेको छ,' अध्यक्ष प्रचण्डले भने, 'नेपालमा धेरै कुराको सम्भावना रहेकाले युवालाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छ।'
उनले देशमा कृषि क्षेत्रमार्फत रोजगारीका थुप्रै सम्भावना हुँदाहुँदै पनि गाउँहरू विस्तारै युवाविहीन हुँदै जानु, खेतीयोग्य जमिन बाँझो हुँदै जानु डरलाग्दो अवस्था भएकाले सबैपक्ष गम्भीर हुनुपर्ने बेला आएको उल्लेख गरे।
'आमजनताले आफ्ना छोराछोरीलाई विदेश होइन, आफ्नै माटोमा केन्द्रित गर्नेगरी सोच्ने बेला आएको छ,' उनले भने, 'राज्यले योजनाबद्ध पहल अघि बढाउने हो भने केही वर्षभित्र नेपाललाई सम्पन्न देश बनाउन सकिने प्रशस्त आधार बढ्दै गएको छ।'
आफूले सरकारको नेतृत्व गर्दा महत्त्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादी बाटोमा अघि बढाउन सफल भएको भन्दै उनले स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने उदाहरण दिनसक्ने गरी धेरै क्षेत्रमा सुधारको थालनी गरेको दाबी गरे।
'मैले सरकारले नेतृत्व गर्दा जलविद्युत् विकासमा जे योगदान गरेँ, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिँढीलाई पनि समृद्ध बनाउने खाका तयार भएको छ,' अध्यक्ष प्रचण्डले भने, 'नेपाललाई विद्युत् भार कटौतीमुक्त बनाउने मात्र होइन, १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत् उत्पादनको सम्झौता मैले थालेका नमुना काम हुन्।'












