०८४ को चुनावअघि कांग्रेस महाधिवेशन हुनुपर्छ: शेखर कोइराला
उनले कांग्रेसमा कुनै गुट उपगुट नभएको पनि बताए।
काठमाडौं, फागुन ८ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले २०८४ को चुनावअघि नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने बताएका छन्।
सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले त्यसअघि नै महाधिवेशन नगरे पार्टी कमजोर हुने बताएका हुन्।
उनले कांग्रेसमा कुनै गुट उपगुट नभएको पनि बताए।
'अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ,' उनले भने।
आगामी महाधिवेशनका लागि आफू पनि सभापति पदको उम्मेदवार रहेको उनले बताए। 'सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ,' कोइरालाले भने।
अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरंकुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए।
कांग्रेस सत्तामा भए पनि आफूहरुले खबरदारी गरिरहेको उनले बताए।












