बेलुनमा हावा भर्ने कमलेशलाई हाजिरी जमानीमा छाड्न आदेश
बिहीबार कास्की जिल्ला प्रशासनले कमलेशलाई दैनिक हाजिर जमानीमा छाड्न आदेश गरेको हो।
काठमाडौं, फागुन ८ : पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा प्रयोग गरिएको बेलुनमा हावा भर्ने भारतीय नागरिक कमलेश कुमारलाई हाजिरी जमानीमा छाड्ने आदेश भएको छ।
बिहीबार कास्की जिल्ला प्रशासनले कमलेशलाई दैनिक हाजिर जमानीमा छाड्न आदेश गरेको हो।
प्रशासनको आदेशसँग कास्की प्रहरी हिरासतमा रहेका कमलेशलाई प्रक्रिया पूरा गरी छाड्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
फागुन ३ गते बेलुन उडाएर पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा स्पार्किङ मेसिनको झिल्काले भेट्दा बेलुन पड्किएर आगलागी भएको थियो।
बेलुन उडान लागेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यालाई आगोको लप्काले भेटेर उनीहरू घाइते भएका छन्।
दुवै जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
घटनाको सोही दिन नै कास्की प्रहरीले कमलेशलाई पक्राउ गरेको थियो। आयोजकले उनैबाट बेलुन किनेको थियो। बेलुनमा हाइड्रोजन ग्यास भरेको आरोपमा उनी पक्राउ परेका थिए।
यो घटना छानबिन गर्नका लागि भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति पनि बनाइएको थियो ।












