‘बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन’
प्रधानमन्त्री ओली भन्छन्- सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्नुस्, देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुँदैन्-(18)-1740049115.jpeg)
कास्की, फागुन ८ : प्रधानमन्त्री केपी ओलीले बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी नहुने बताएका छन्।
कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरुले इमानदार भएर देशका लागि काम गर्नुपर्ने बताए।
‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ। बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन। तपाईँहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,’ उनले भने, ‘तपाईँहरु समाज र देशका लागि उपयोगी हुनुपर्छ। आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ। देश र समाजका लागि केही गर्नुस्। नागरिक सर्वाेच्चताको गर्व तपाईँहरुमा होस्।’
प्रधानमन्त्री ओलीले सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुने बताए।
‘हात्ति देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन। हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस्। साहसी हुनुस्, दुस्साहासी नहुनुस्,’ उनले भने, ‘हामीसँग उर्बर भूमि छ। यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ। यस काममा विश्वविद्यालय लागोस्। सरकार विश्वविद्यालयको साथमा छ।’
समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गरेका थिए। साथै उनले कुलपति पदकबाट सर्वाेत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत पनि गरेका थिए।












