स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै निर्वाचन हो : प्रमुख आयुक्त थपलिया
उनले संसारका लोकतान्त्रिक मुलुकहरुको अभ्यासलाई हेर्दा समेत एकै दिन, एउटै उदेश्यले सबै देशभरीका नागरिकहरु सडकमा निस्कने, मतदान केन्द्रमा पुगेर एउटै काम गर्ने कुनै दिन छ भने त्यो निर्वाचन नै भएको बताए।
काठमाडौं, फागुन ७ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै निर्वाचन भएको बताएका छन्।
निर्वाचन आयोग नेपालको नवौं निर्वाचन दिवस २०८१ को अवसरमा बोल्दै उनले संसारका लोकतान्त्रिक मुलुकहरुको अभ्यासलाई हेर्दा समेत एकै दिन, एउटै उदेश्यले सबै देशभरीका नागरिकहरु सडकमा निस्कने, मतदान केन्द्रमा पुगेर एउटै काम गर्ने कुनै दिन छ भने त्यो निर्वाचन नै भएको बताएका हुन्।
‘हामीले ढिलो लोकतन्त्र पायौं तर प्रयाप्त लोकतन्त्र पायौं। स्वतन्त्रताको एउटा सार्थकको मूलभूत तत्व नै यो निर्वाचन हो। मतदानको प्रक्रियाले मात्र यसलाई स्पष्ट गर्दैन। सहभागिता कुरा गर्ने हो भने पनि जनसहभागिताको सबैभन्दा गतिलो अभ्यास गर्ने ठाउँ पनि यो निर्वाचन नै हो,’ उनले भने, ‘संसारका लोकतान्त्रिक मुलुकहरुको अभ्यासलाई तपाईंले हेर्नुहुन्छ भने एकैदिन, एउटै उद्देश्यले सबै देशभरीका नागरिकहरू सडकमा निस्कने, मतदान केन्द्रमा पुगेर एउटै काम गर्ने कुनै दिन छ भने त्यो निर्वाचन नै हो। नागरिक सहभागिताका कुराहरुलाई उठायौं भने तब मात्रै निर्वाचन सफल हुन्छ, प्रभावकारी हुन्छ, उपयुक्त हुन्छ।’
प्रमुख आयुक्त थपलियाले फागुन ७ गते हामी सबैको गौरवशाली दिनको रुपमा समेत रहेको बताए। उनले आज ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई निर्वाचन आयोगले ७२ सालमा एउटा अविश्मरणिय क्षणको स्मरण गर्दै निर्वाचन दिवसको रुपमा मनाउने निर्णय गरेको समेत बताए।
‘आज फागुन ७ गते हामी सबैको गौरवशाली दिन हो। लोकतन्त्र र जनअधिकारको जुन महाअभियान छ, थियो र अहिले पनि छ। यो अभियान कहिले पनि पूरा हुँदैन, र पूर्ण पनि हुँदैन। यसलाई पूर्णतातिर लान निरन्तर लागिरहनुपर्छ। यो महायात्रालाई स्मरण गर्ने दिन हो यो,’ उनले भने, ‘आज ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस पनि हो। यही दिनलाई निर्वाचन आयोगले ७२ सालमा एउटा अविश्मरणिय क्षणको स्मरण गर्दै निर्वाचन दिवसको रुपमा मनाउने निर्णय गरेको हो। आज हामी नवौं निर्वाचन दिवसमा मनाइरहेका छौं।’












