लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
७५औं प्रजातन्त्र दिवसका अवसरमा शुभकार सन्देश जारी गर्दै अध्यक्ष नेपालले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराएका छन्।
काठमाडौं, फागुन ७ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताएका छन्।
७५औं प्रजातन्त्र दिवसका अवसरमा शुभकार सन्देश जारी गर्दै अध्यक्ष नेपालले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराएका छन्।
‘मुलुकमा रहेको निरङ्कुश, जहानियाँ र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ।
मुलुकको सार्वभौमसत्ता जनताको संघर्ष तथा वीर सहिदको बलिदानबाट स्थापित गरेको हुनाले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको उनले बताएका छन्।
‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको छ। जनताको सङ्घर्षबाट प्रजातन्त्रकै जगमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेका छौं,’ शुभकामना सन्देशमा भनिएको छ।
देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु अहिलेको हाम्रो कार्यभार होभने लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व उनले बताएका छन्।
अध्यक्ष नेपलाले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेका हामीले अब गरिबी, बेरोजगारी, पछौटेपन, विभेद र कुरीतिका विरुद्ध ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प गर्न सबैमा प्रेरणा मिल्ने विश्वास अध्यक्ष नेपालले व्यक्त गरेका छन्।।












