महिला सशक्तिकरण कांग्रेसको महत्वपूर्ण एजेन्डा :नेता निधि
नेता निधिले महिलाहरुको सशक्तिकरणलाई पार्टीका लागि एक महत्वपूर्ण एजेन्डा भएको बताउँदै समाजको सबै क्षेत्रका महिलाहरुको उचित प्रतिनिधित्वको आवश्यकता व्यक्त गरे।-1739938944.jpg)
धनुषा, फागुन ७ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेश प्रदेशमा महिला नेतृत्वको अवस्था, अवसर र चुनौतीको बारेमा महत्वपूर्ण धारणा व्यक्त गरेका छन्।
नेपाली कांग्रेस महिला विभागद्वारा जनकपुरधामस्थित कांग्रेस कार्यालयमा आयोजित ‘नेपाली कांग्रेस महिला नेतृत्वको अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला नेतृत्वको समृद्धिको लागि कांग्रेसको प्रतिबद्धता र कसरतको महत्त्वमा जोड दिए।
नेपाली कांग्रेस महिला विभागकी प्रमुख पुष्पा भुसालको नेतृत्वमा कांग्रेसी महिलाहरुको सशक्तिकरण, राजनीतिक सहभागिता र निर्णय निर्माण प्रक्रियामा समावेशीकरणका बारेमा गहन छलफल गरिएको थियो।
नेता निधिले महिलाहरुको सशक्तिकरणलाई पार्टीका लागि एक महत्वपूर्ण एजेन्डा भएको बताउँदै समाजको सबै क्षेत्रका महिलाहरुको उचित प्रतिनिधित्वको आवश्यकता व्यक्त गरे।
‘महिला नेतृहरूको सशक्तिकरण र उनीहरूको भूमिका सुनिश्चित गर्ने प्रक्रिया नेपाली कांग्रेसको प्राथमिकतामा पर्छ,’ निधिले भने, ‘हाम्रो उद्देश्य हो महिला नेतृहरुलाई नेतृत्वको उच्च स्थानमा पुर्याउनु र उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्नु हो । यसले पार्टीको समृद्धि र समाजको सुधारमा टेवा पुर्याउँछ।’
निधिले मधेश प्रदेशका महिला नेतृहरूको योगदानको उच्च मूल्यांकन गर्दै मधेशमा महिला नेतृहरूले पार्टीको नीति र कार्यक्रमको प्रचार प्रसारमा ठूलो भूमिका खेलेको बताए।
नेता निधिले महिला नेतृहरूको सक्रियता र योगदानको कदर गर्दै पार्टीको समृद्धिका लागि सशक्त कदम चाल्ने कुरामा विश्वास व्यक्त गरे।
उनले आगामी चुनावमा कांग्रेसी महिलाहरुको नेतृत्व अझ प्रगति गर्ने र महिलाहरुको नेतृत्वमा पार्टीलाई नयाँ उचाईमा पुर्याउने कुरामा विश्वास व्यक्त गरे।












