कामको फेहरिस्त सुनाउँदै मन्त्री खड्काले भने– आरोप पुष्टि भए पद त्याग्न तयार छु
उर्जा मन्त्रालयले पछिल्लो सात महिनामा उल्लेखनीय कार्य सम्पन्न गरेको दाबीसहित खड्काले विद्युत् विकास विभागले १६ जलविद्युत् आयोजना तथा ३३ प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेकोलगायत प्रसङ्ग पनि सुनाए।
काठमाडौं, फागुन ६ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफ्नाविरुद्ध लगाइएका आरोप पुष्टि भए पद त्याग्न तयार भएको बताएका छन्।
संसदबाटै विभिन्न आक्षेप र अनर्गल प्रचार हुनु दुःखद रहेको बताउँदै मन्त्री खड्काले आरोप पुष्टी गर्न चुनौती समेत दिए। मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा शून्य र विशेष समयमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री खड्काले उक्त चुनौती दिएका हुन्।
खड्काले संसद बैठकमा चुनौती दिँदै भने, ‘मैले कुनै खराब काम गरेको रहेछु भने मन्त्री मात्र होइन सांसद पद नै छाड्न तयार छु, गैरकानुनी काम गरेको तथ्य प्रमाण देखाउन म चुनौती दिन्छु ।सांसदहरूबाटै आफ्नाविरुद्ध अनर्गल प्रचार हुँदा आफ्नो मानमर्दन भएको छ । संसदबाटै विभिन्न आक्षेप र अनर्गल प्रचार हुनु दुःखद हो।’
मन्त्री खड्काले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको समृद्धि ऊर्जा विकासमार्फत मात्र सम्भव हुने स्पष्ट धारणा बनाएको बताए। उर्जा मन्त्रालयले पछिल्लो सात महिनामा उल्लेखनीय कार्य सम्पन्न गरेको दाबीसहित खड्काले विद्युत् विकास विभागले १६ जलविद्युत् आयोजना तथा ३३ प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेकोलगायत प्रसङ्ग पनि सुनाए।
यस अवधिमा १६ जलविद्युत् आयोजनाको उत्पादन तथा निर्माण अनुमतिपत्र, ११ वटा प्रसारण लाइन निर्माण अनुमतिपत्र, १४ वटा सौर्य विद्युत् परियोजनाको सर्वेक्षण अनुमतिपत्र र दुई सौर्य विद्युत् आयोजना निर्माण अनुमतिपत्र जारी गरिएको जानकारी पनि उनले गराए।
मन्त्री खड्काका अनुसार नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् व्यापारलाई थप सशक्त पार्न विभिन्न सम्झौता भएको स्मरण पनि मन्त्री खड्काले गराए । उनले गत असोज १७ मा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगमबिच ४० मेगावाट विद्युत् निर्यात सम्झौता सम्पन्न भएको र गत कात्तिक ३० देखि भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात सुरु गरिएको जानकारी पनि संसदलाई दिए।
यसअतिरिक्त नेपाल र भारतबिच पनि विद्युत् आयात–निर्यात सम्झौता भई भारतमा १२ जलविद्युत् आयोजनामार्फत २५१ मेगावाट निर्यात भइरहेको मन्त्री खड्काले बताए । कुल विद्युत निर्यात क्षमता ९४१ मेगावाट पुगेको छ, भारतबाट एक हजार चार मेगावाट पावर एक्सचेन्ज तथा २३० मेगावाट विद्युत् खरिद सम्झौता गरिएको छ .।
मन्त्री खड्काले नेपाल–भारत मन्त्रिस्तरीय बैठकका प्रमुख उपलब्धिमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता ८०० मेगावाटबाट एक हजार मेगावाट पु¥याउने, चमेलिया–जैलिजीवी २२० केभी प्रसारण लाइन २०२५ सम्ममा सम्पन्न गर्ने र अन्य महत्त्वपूर्ण प्रसारण लाइन सन् २०३५ भित्र सम्पन्न गर्ने योजना रहेको पनि बताए।
यस्तै, मन्त्री खड्काले बूढीगण्डकी (एक हजार २०० मेगावाट), अप्पर अरुण (एक हजार ६३ मेगावाट), तमोर (७५० मेगावाट), दुधकोशी (६७० मेगावाट) तथा उत्तरगङ्गा (८२८ मेगावाट) लगायतका ठुला आयोजना अघि बढाउन प्रक्रिया थालेको समेत संसद्लाई जानकारी गराए।
मन्त्री खड्काले ऊर्जा विकास मार्गचित्र २०८१ मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको पनि बताएका छन्।
यस्बाट सन् २०३५ सम्ममा जलविद्युत् उत्पादन २८ हजार ५०० मेगावाट पु¥याउने लक्ष्य राखिएको छ । यसमध्ये १३ हजार ५०० मेगावाट आन्तरिक खपतका लागि र १५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको छ। यो लक्षित विद्युत् उत्पादन गर्नका लागि कुल लागत करिब ४६ दशमलव पाँच अर्ब अमेरिकी डलर अर्थात् रु ६२ खर्ब ३१ अर्ब रहने अनुमान गरिएको छ।









![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)

