Kathmandu Press

यस्ता छन् एकीकृत समाजवादीको स्थायी कमिटीले गरेको तीन निर्णय

भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको घटनामा दोषीलाई कारबाही गर्ने पहल गर्न सरकारसँग माग राख्ने निर्णय गरेको छ।
यस्ता छन् एकीकृत समाजवादीको स्थायी कमिटीले गरेको तीन निर्णय

काठमाडौं, फागुन ६ : नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले विभिन्न निर्णयहरू गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेश लगायत विभिन्न समसामयिक परिस्थितिबारे तीन निर्णय गरेको हो।

पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार बैठकले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। 

Hardik ivf

अध्यादेशहरू संसद अधिवेशनको संघारमा संसदलाई छलेर ल्याइएको र संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा गलत रहेको एकीकृत समाजवादीको ठहर छ।

‘अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन् । अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तरबस्तु दुबैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

बैठकले, पोखरा भ्रमण वर्ष २०८१ को उद्घाटन कार्यक्रममा बेलुन विष्फोट भई घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख तथा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य धनराज आचार्य, पोलिटब्यूरो सदस्य विदुर सापकोटा, केन्द्रीय सदस्य कमला साउद र केन्द्रीय सल्लाहकार परिषद सदस्य शम्भु श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने प्रस्ताव पारित गरेको छ।

बैठकले भारतको ओडिसा राज्यको कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कारबाही गर्न र नेपाली विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति गर्न एवं छात्राबासमा बस्ने व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको छ।

यो बैठकले पार्टी नेकपा (एकीकृत समाजवादी) केन्द्रीय निर्वाचन आयोगका सदस्य सुरेन्द्र यादवका पिता पुराना वामवन्थी नेता असर्फि यादवको दुःखद निधन भएकोमा उनीप्रति  भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्ने निर्णय पनि गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए।

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्