Kathmandu Press

अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजावदी)ले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, फागुन ६ : नेकपा (एकीकृत समाजावदी)ले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएको ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

सरकारले संसद सुरू हुनुभन्दा करिब एक साताअघि ६ वटा अध्यादेश ल्याएको थियो। प्रतिनिधि सभाबाट कांग्रेस र एमालेको सांसद संख्याले मात्रै अध्यादेश स्विकृत गर्न सक्ने भएपनि राष्ट्रिय सभाबाट स्विकृत हुन दुई दलको बहुमत पुग्दैन।

सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीले भूमीसम्बन्धी अध्यादेशमा असहमति जनाएपछि सरकारले निर्णयार्थ प्रस्तुत भएको छैन।

निर्णयार्थ प्रस्तुत हुँदा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय गरेक पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

एकीकृत समाजवादीले उक्त अध्यादेशहरू संसद अधिवेशनको संघारमा संसदलाई छलेर ल्याइएको र संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा गलत रहेको बताए।

‘अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन् । अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तरबस्तु दुबैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १७:४० बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्