उडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री राणा
एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेकी मन्त्री राणाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै कूटनीतिक पहल सुरु गरेको उनको सचिवालयले जानकारी दिएको छ।
काठमाडौं, फागुन ५ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन्।
सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफूले आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उनले बताएकी हुन्।
एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेकी मन्त्री राणाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै कूटनीतिक पहल सुरु गरेको उनको सचिवालयले जानकारी दिएको छ।
मन्त्री राणाले सम्बद्ध पक्षसँग सम्पर्कमा रहेको साथै आफूले भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीको समस्याबारे आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएकोसमेत जानकारी दिएकी छन्।
सोहीबमोजिम राजदूत डा. शर्माले काम गरिरहेको र नेपाली दूतावास नयाँ दिल्लीले विज्ञप्ति पनि जारी गरिसकेको उनले बताइन्।
'यसका साथै आज अपराह्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको छु । उहाँले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभएको छ । यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको छ र मन्त्रालयले पछिल्लो अवस्थाबारे जानकारी पनि गराउने छ,' मन्त्री राणाको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ।












