केआइआइटीमा नेपाली छात्राको मृत्यु भएपछिको घटनामा दूतावासले भन्यो- विद्यार्थीले छात्रावास छाड्नुपर्दैन
'प्रकृति लम्सालको मृत्यु भएको घटनामा निष्पक्ष अनुसन्धान हुन्छ'
काठमाडौं, फागुन ५ : भारतको उडिसास्थित कलिंगा विश्वविद्यालय (केआइआइटी) घटनामा भारतस्थित नेपाली दूतावासले नेपाली विद्यार्थीले छात्रावास छाड्न नपर्ने बताएको छ।
दूतावासले सोमबार बेलुका विज्ञप्ति जारी गरेर नेपाली विद्यार्थीले छात्रावासमै बस्न पाउने व्यवस्था मिलाइएको जानकारी दिएको हो।
केआइआइटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको छात्रावासमा मृत्यु भएको घटनापछि नेपाली विद्यार्थीहरूलाई आजै छात्रावास छोड्नू भनेर विश्वविद्यालयले उर्दी जारी गरेको थियो।
लम्सालको मृत्युमा भारतीय प्रहरीले आत्महत्या भनेपछि घटना शंकास्पद रहेको भन्दै नेपाली विद्यार्थीहरू आन्दोलित भएका थिए। उनीहरूले विश्वविद्यालय परिसरमै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित हुनुपर्ने माग राखेर प्रदर्शन गरेका थिए।
उनीहरुले प्रकृतिको मृत्यु भएको घटनामा सोही विश्वविद्यालयमा अध्ययनरत उनकै सहपाठी एक भारतीय छात्रा कारक रहेको बताएका थिए।
ती छात्राले प्रकृतिलाई मानसिक तनाव दिएको भनेर विश्वविद्यालय प्रशासनलाई केही दिनअघि मात्रै उजुरी दिएका थिए। उक्त उजुरीमा छानबिन गरी ती छात्रलाई कारबाही गर्नतर्फ विश्वविद्यालय उदासिन बनेको नेपाली वद्यार्थीहरूले आरोप लगाएका थिए।
घटनापछि सोमबार मात्रै भारतीय प्रहरीले ती छात्रलाई पक्राउ गरी आत्महत्या दुरूत्साहन कसुरमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ।
नेपाली विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि विश्वविद्यालयले विज्ञप्ती जारी गरेर सोमबारभित्रै छात्रावास छाड्न उर्दी जारी गरेको थियो।
सो विषय सोमबारको प्रतिनिधि सभा बैठकमा पनि उठेको थियो। घटनाबारे चौतर्फी आवाज उठ्न थालेपछि भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले विज्ञप्ति जारी गरेर नेपाली विद्यार्थीहरुले छात्रावास छाड्न नपर्ने जानकारी गराएका हुन्।
उनका अनुसार दूतावासले विश्वविद्यालयलाई नेपाली विद्यार्थीको सुरक्षा प्रबन्ध मिलाउन र छात्रावासमै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो।
'यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,' दूतावासले जारी गरको विज्ञप्तिमा भनिएको छ।
साथै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनामा निष्पक्ष अनुसन्धान गर्न पनि दूतावासले ध्यानाकर्षण गराएको छ।
'सो शैक्षिक संस्थाले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ,' दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसंग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुबाट आवश्यक सहयोग एवं समन्वय दूतावासले जनाएको छ।












