सभामुखले आकस्मिक समय अस्विकार गरेपछि संसदबाट बाहिरिइन् सुमना
सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्दै आकस्मिक समयमा बोल्न नाम टिपाएकाहरूलाई समय दिएपछि उनी बाहिरिएकी थिइन्।
काठमाडौं, फागुन ५ : प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले बोल्नका लागि माग गरेको आकस्मिक समय उपलब्ध गराउन अस्विकार गरेका छन्।
श्रेष्ठले बैठकको सुरुमै समय माग गरेर उठेकी थिइन्। सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्दै आकस्मिक समयमा बोल्न नाम टिपाएकाहरूलाई समय दिएपछि उनी बाहिरिएकी थिइन्।
नाम टिपाएका ८ सांसदले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले आकस्मिक समय सकिएको भन्दै शून्य समय सुरु गरेका थिए।
रास्वपा सांसद श्रेष्ठले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेकोबारे आफ्ना कुरा राख्न आकस्मिक समय माग गरेकी थिइन्।
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन्।
सभामुख घिमिरेले नियमावलीप्रति ध्यानाकर्षण गराउँदै श्रेष्ठलाई आग्रह गर्दै भने, ‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ । आसनग्रहण गर्नुस्,’ सभामुख घिमिरेले भने, ‘यहाँलाई मैले समय दिएको छैन। तपाईं आसनग्रहण गर्नुस्।’
सभामुख घिमिरेले शून्य समयको कार्यक्रम अघि बढाएपछिसांसद श्रेष्ठ बैठक कक्षबाटै बाहिरिएकी थिइन्।












