ओडिसाको केआईआईटीमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु, सबै नेपाली विद्यार्थीलाई घर फर्काइयो
कलेज प्रशासनले भने नेपाली विद्यार्थीमाथि नै दमन गरेको छ। कलेज प्रशासनले सूचना जारी गर्दै आन्दोलनमा रहेका सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न भनेको छ।
काठमाडौं, फागुन ५ : भारतको ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बी–टेक अध्ययनरत नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको छ।
बुटवलकी प्रकृति लम्सालले आइतबार कलेज परिसरमै आत्महत्या गरेकी थिइन्। उनले भारतीय विद्यार्थी आद्विक श्रीवास्तवको दुर्व्यवहार सहन नसकेर आत्महत्या गरेको बताइएको छ। उनी केआईआईटी बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्।
प्रकृतिको मृत्युपछि त्यहाँ अध्यनरत रहेका नेपाली विद्यार्थीले दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए। आइतबार साँझ आत्महत्याको खबर थाहा पाएका नेपाल विद्यार्थीहरुले रातिबाटै प्रदर्शन गरेका थिए।
तर, कलेज प्रशासनले भने नेपाली विद्यार्थीमाथि नै दमन गरेको छ। कलेज प्रशासनले सूचना जारी गर्दै आन्दोलनमा रहेका सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न भनेको छ।
कलेज प्रशासनले सोमबार बिहान सबै नेपाली विद्यार्थीलाई ‘डिपोर्ट’ गर्न थालेको बताइएको छ।
कलेज प्रशासनले ५ सयभन्दा धेरै नेपाली विद्यार्थीलाई भुवनेश्वर र कटक रेलवे स्टेसनमा ल्याएर छोडिदिएको बताइएको छ। ट्रेन नोपल बिहीबार मात्र जाने भएकाले उनीहरु अलपत्र परेको बताइएको छ।
हाल विश्वविद्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ। प्रकृतिका परिवार घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन् ।
केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा सबै नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल कलेज छात्रावास छाड्न भनिएको छ। केआईआईटीमा हाल नेपाली ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।












