Kathmandu Press

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि पहल गर्न आग्रह

भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको बताइएको छ।
परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि पहल गर्न आग्रह

काठमाडौं, फागुन ५ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच आज ओमनको मस्कटमा भेटवार्ता भएको छ।  

आठौं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा. राणा र इरानी विदेशमन्त्रीबीच भेटावर्ता भएको हो।

Hardik ivf

सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो। साथै त्यस अवसरमा मन्त्री डा. राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गरेकी थिइन्। 

हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा.राणाले केही दिनअघि पनि इरानी विदेशमन्त्री अराघ्चीसँग फोनमा कुराकानी गरेकी थिइन्।

भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको बताइएको छ। नेपाली युवा विपिनलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने आस्वासन उनले दिएका थिए।

सन् २०२३ को अक्टोबरमा हमासको अपहरणमा परेका विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ। यसक्रममा मन्त्री डा. राणाले हिजोमात्र पनि कतारका विदेश राज्यमन्त्रीसँग सो अपिल गरेकी थिइन्। 
 

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, फागुन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्