सांसद सूर्य थापाले भन्छन्– पत्रकारले प्रश्न सोध्दा सीमा नाघे, परिचालित भएर प्रश्न गरे
उनले पत्रकारहरुले मर्यादा, सामाजिक शिष्टाचार, कानुन, संविधानसमेतको ख्याल नराखी प्रश्न गर्ने गरेको बताए।
काठमाडौं, फागुन ५ : प्रतिनिधिसभा सदस्य सूर्य थापाले पत्रकारहरुले परिचालित भएर प्रश्न सोधेको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पत्रकारहरुले मर्यादा, सामाजिक शिष्टाचार, कानुन, संविधानसमेतको ख्याल नराखी प्रश्न गर्ने गरेको बताए। मिडिया व्यवस्थापन संसदको छवीसँग जोडिएको बताए।
‘मिडिया व्यवस्थापन संसदको छवीसँग जोडिएको छ। संसदहरुलाई कस्ता प्रश्न सोध्ने? ति प्रश्न संविधान कानून बमोजिम हुनुपर्छ कि पर्दैन? ति प्रश्नमा गालीगलौज अथवा पेड मिडियाको भूमिका खेल्नेगरी कसैद्वारा परिचालित ढंगले आरोपित गर्नेगरी प्रश्न गर्न पाइन्छ की पाइँदैनन्?,’ उनले भने, ‘म आफैंले पनि भोगेको र हिजो प्रधानमन्त्रीज्यूलाई लक्षित गरेर सोधिएका प्रश्नहरुमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’
सांसद् थापाले आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै गर्दा ‘तपाईं हिटलर हो ?’ भनेर सोधिएको प्रश्न प्रति पनि उनले आपत्ति जनाए। उनले मिडिया म्यानेजमेन्ट गर्नेतिर, संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम व्यवस्थित गर्न माग गरे।
‘प्रधानमन्त्रीज्यू प्रश्न उत्तर कार्यक्रमबाट बाहिँरिदा ‘तपाईं हिटलर हो’भनेर प्रश्न गरियो, नेपालको संसदले बनाएको प्रधानमन्त्री हिट्लर हुन्छ र सभामुख महोदय। संसद् सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका पत्रकार साथीहरुले कानुन, संविधान, आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई यस्ता गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दै?’ प्रश्न गर्दैै उनले भने, ‘मिडिया म्यानेजमेन्ट गर्नेतिर, संविधान, कानुन र पत्रकार आचारसंहिता बमोजिम यवस्थित गरियोस् । मलाई नै एक जना मिडियाकर्मीले बुम तेर्साएर ‘तपाईँ हनुमान हो?’भनेर प्रश्न गर्नुभयो। सांसदहरुलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन? म यो गम्भीरतापूर्वक ध्यानाकार्षण गराउन चाहन्छु।’
साथै उनले आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सांसदहरुको प्रश्न सोध्ने पाउने अधिकारको दुरुपयोग गरेर प्रधानमन्त्रीमाथि प्रश्न सोधेको उनले बताए।












