‘बीआरआई’ चीनसँगको रणनीतिक गठबन्धन होइन : परराष्ट्रमन्त्री डा.राणा
‘बीआरआईलाई जुन रूपमा हेरिएको छ, त्यो वास्तवमा नेपालले चीनसँग गरेको रणनीतिक गठबन्धन होइन। नेपाल असंलग्न राष्ट्र हो र विश्वको कुनै पनि देशसँग रणनीतिक गठबन्धनमा प्रवेश गर्दैन,’ उनले भनिन्।
काठमाडौं, फागुन ५ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) रणनीतिक गठबन्धन नभएको प्रश्ट पारेकी छन्।
ओमान भ्रमणमा रहेकी मन्त्री डा.राणाले भारतीय मिडिया डब्लूआईओएनसँग कुराकानी गर्दै यस्तो भनाई राखेकी हुन्।
‘बीआरआईलाई जुन रूपमा हेरिएको छ, त्यो वास्तवमा नेपालले चीनसँग गरेको रणनीतिक गठबन्धन होइन। नेपाल असंलग्न राष्ट्र हो र विश्वको कुनै पनि देशसँग रणनीतिक गठबन्धनमा प्रवेश गर्दैन,’ उनले भनिन्।
मन्त्री डा.राणाले बीआरआईका कारण भारतसँग सम्बन्ध नबिग्रेको पनि स्पष्ट गरेकी छन्। उनले बीआरआर्ई विकासका गतिविधि बारेमा नेपाल र चीनबीचको समझदारीको दस्तावेज मात्र भएको बताइन्।
उनले नेपाल सन् २०१७ मा बीआरआईमा प्रवेश गरेको स्मरण पनि गराइन् । उनले भनिन्, ‘नेपाल यस तथ्यको बारेमा स्पष्ट छ। कुनै पनि देश वा संस्थाबाट महँगो ऋण लिने स्थितिमा छैन। चिनियाँ सरकार पनि यस बारेमा धेरै स्पष्ट छ।’
परराष्ट्रमन्त्री डा.राणा हिन्द महासागर सम्मेलनमा सहभागी हुन गत शुक्रबार ओमानको मस्कट पुगेकी थिइन् । परराष्ट्रमन्त्री राणाले भारतसँगको सम्बन्ध धेरै राम्रो भएको पनि बताइन् । ‘हाम्रो सम्बन्ध राम्रो अवस्थामा छ र नयाँ उचाइमा पुग्नेछ भन्ने कुरामा म विश्वस्त छु’, परराष्ट्रमन्त्री राणाले भनिन्।
यस्तै, उनले फरक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको लागि निमन्त्रणाको पर्खाइमा आफूहरू रहेको पनि डब्लूआईओएनसँगको कुराकानीमा मन्त्री राणाले बताइन्।
भारतले निमन्त्रणा गरेर प्रधानमन्त्री भारत भ्रमणमा जाँदा धेरै खुसी लाग्ने उनको भनाई थियो।












