Kathmandu Press

सांसद ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाकाे खेद प्रस्तावप्रति रघुजी पन्तको आपत्ति

सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण निर्माण गर्न नहुने बताएका हुन्। 
सांसद ज्ञानेन्द्र शाहीविरुद्ध राष्ट्रिय सभाकाे खेद प्रस्तावप्रति रघुजी पन्तको आपत्ति

काठमाडौं, फागुन ५  : नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण निर्माण गर्न नहुने बताएका हुन्। 

‘प्रतिनिधिसभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ। त्यो आफैंमा दुःखद् हो। यसबाट पाठ सिकौं, कसै व्यक्तिलाई दोष नदिउँ। दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने काम नगरौं, संविधानले दुई संसदीय प्रणाली अंङ्गिकार गरेको छ,’ उनले भने, ‘दुई सदन छन्। यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने यसले संसदीय व्यवस्थालाई असर गर्छ। एक सदनले बोलेका कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैंमा दुःखद हो।’

सांसद पन्तले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले संसदीय व्यवस्था र लोकतन्त्र कमजोर बनाउने बताए।

प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र बहादुर शाहीको अभिव्यक्तिलाई लिएर हिजो राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो। सांसद शाहीले राष्ट्रिय सभालाई बृद्धाश्रमको संज्ञा दिएका थिए। 
 

प्रकाशित मिति: १३:४२ बजे, सोमबार, फागुन ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्