स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौं : मन्त्री पौडेल
मन्त्री पौडेलले समग्र उपचार प्रणालीलाई नै व्यवस्थित गर्न विद्युतीय प्रणालीलाई बलियो बनाउन मन्त्रालय लागिपरेको बताए।
काठमाडौं, फागुन ४ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।
मन्त्री पौडेलले स्वास्थ्य बीमामा देखिएका विभिन्न जटिलतालाई सुधार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाल औषधि थोक व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमामा चुनौती देखिए पनि यसलाई हटाउनेभन्दा पनि सुधारोन्मुख बनाइने बताए।
'स्वास्थ्य बीमा व्यवस्थित हुन सकेको छैन । यसमा विभिन्न समस्या देखिएका छन् । यसलाई हटाउने होइन, व्यवस्थित गर्न चाहिरहेका छौँ । बीमा भुक्तानीमा पनि समस्या देखिएका छन् । दाबीभन्दा पनि बढी देखिएको छ । बीमा सुधारका लागि प्रतिवेदन तयार भएको छ, त्यहीअनुसार कार्यान्वयनमा लैजान्छौं,' उनले भने।
मन्त्री पौडेलले समग्र उपचार प्रणालीलाई नै व्यवस्थित गर्न विद्युतीय प्रणालीलाई बलियो बनाउन मन्त्रालय लागिपरेको बताए।
सङ्घका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले थोक औषधि व्यवसायीले औषधिको खरिद, भण्डारण, वितरण गुणस्तरताको सुनिश्तिता, स्वास्थ्य सेवा प्रदायकलाई निरन्तर औषधि उपलब्ध गराउने, औषधिको मूल्य स्थिर र सन्तुलन कायम राख्न विशेष भूमिका निर्वाह गर्दै आइरहेको बताए।
उनले संशोधनको क्रममा रहेको औषधि ऐनमा औषधि थोक व्यवसायीको हकहितका कुरा समेटिनुपर्ने धारणा राखे।
'औषधि आयातकर्ताबाट समय नाघेको र टुटफुट भएको औषधि क्रेडिट नोट समयमा नआउँदा थोक व्यवसायीको ठूलो रकम आयातकर्ताकोमा फ्रिज हुने प्रवृत्तिले थोक व्यवसायी कारोबार गर्दा करको मारमा पर्ने गरेका छन् । यसमा सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण पुगोस्,' उनले भने।





-1777018433.jpg)





-1777018433.jpg)
-1744698085.png)