‘सातौं स्याङ्जा महोत्सवको उद्घाटन पर्यटनमन्त्रीले गर्ने, प्रत्येक दिन राष्ट्रिय कलाकारको भव्य प्रस्तुति
पर्यटकीय नगरी स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ को माले बगर खेल मैदानमा फागुन ६ देखि १८ गतेसम्म हुन लागेको महोत्सवको उद्घाटन पाण्डेले गर्ने तय भएको स्याङ्जा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए।
काठमाडौं, फागुन ४ : ‘सातौं स्याङ्जा महोत्सव–२०८१’को उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले गर्ने भएका छन्।
पर्यटकीय नगरी स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ को माले बगर खेल मैदानमा फागुन ६ देखि १८ गतेसम्म हुन लागेको महोत्सवको उद्घाटन पाण्डेले गर्ने तय भएको स्याङ्जा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए।
यस्तै समुद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं कांग्रेस जिल्ला सभापति राजु थापा विशिष्ट अतिथि र प्रदेश सभाका सदस्यहरु, पालिकाका प्रमुख, उपप्रमुख लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहनेछन् ।
महोत्सवको मुख्य आयोजक उद्योग वाणिज्य संघ स्याङ्जा, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन्। यस्तै प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ।
गत वर्षहरुमा ६ पटकसम्म सम्पन्न भइसकेको महोत्सव यस बर्ष अझ पृथक प्रभावकारी रुपमा गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि पर्यटन, साँस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला २०८१ को रुपमा सातौं स्याङजा महोत्सव २०८१ आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए।
सातौ स्याङ्जा महोत्सव २०८१ ले, अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यापार व्यवसाय, उद्योग र उत्पादनको प्रबर्द्धन गर्नुका साथै स्थानीय कृषि तथा पशुपालन,प्राचिन तथा परम्परातग व्यवसायको संरक्षण पर्यटन र विभिन्न राजनीतिक दल, सरकारी निकाय, संघ संस्था, वित्तीय संस्था, शैक्षिक संस्था, धार्मिक संस्थाहरु, जातीय समाजहरु, नागरिक समाज लगायत समग्र सबै पक्षको साझा मञ्चको रुपमा आपसी सद्भाव एवं समन्वय तथा माया बाँड्न सफल हुनेछ भन्ने अपेक्षा गरिएको संघका जिल्ला अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिए।
महोत्सवमा साँस्कृतिक कार्यक्रम तथा भेषभूषा प्रदर्शनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी, सुन्तला प्रदर्शनी, ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफी प्रदर्शनी, माछा महोत्सव र पशुपंक्षी प्रदर्शनी तथा बिक्री कक्ष लगायतका झण्डै २२० स्टलहरु रहनेछन्।
महोत्सवमा प्रवेशको लागि साधारण टिकट एक सय तोकिएको छ भने, विद्यार्थीको लागि रु ५० र ज्येष्ठ नागरिकको हकमा प्रवेश निशुल्क गरिएको छ। महोत्सवमा ८ करोड सम्मको व्यापारिक कारोवार र ३ लाख ५० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको छ। महोत्सव टिकट आम्दानीको ५५ संस्थाको सामाजिक उत्तरदायित्व वहन अन्तरगत बिभिन्न सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ। महोत्सवलाई सवैको अपनत्व एवं सहज पहुँच हुने गरी अपाङ्गता मैत्री बनाईने आयोकजले जनाएको छ ।
प्रत्येक दिन राष्ट्रिय कलाकारको प्रस्तुति
महोत्सव अवधिभर ६ देखि १८ गतेसम्म प्रत्येक दिन फरक–फरक राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजक उद्योग वाणिज्य संघले जनाएको छ । जसअनुसार ७ गते बद्री पंगेनी, कृष्ण गुरुङ, ८ गते राजु गुरुङ, पुरुषोत्तम न्यौपाने, माया गुरुङ र अम्मर धिताल, ९ गते खुमन अधिकारी, १० गते पुस्कल शर्मा, चोलेन्द्र पौडेल र हास्यकलाकार सुबोध गौतम को प्रस्तुती रहनेछ।
यस्तै ११ गते लोकप्रिय गायिका प्रीति आले, श्याम राना, चोलेन्द्र पौडेल, मनोज गोर्खाली, राजेन्द्र गिरि र १२ गते कुलेन्द्र विश्वकर्मा र शान्ति रानी परियार, १३ गते रचना रिमाल, राजन कार्की र मोहन खड्का, १४ गते एलिना चौहान, शिव हमाल, र शिव शर्मा, १५ गते पशुपति शर्मा, साहिमा श्रेष्ठ, १६ गतेअर्जुन सापकोटा, राजन कार्की र सम्झना लामिछाने मगर र १७ गते रामजी खांण, दुर्गेश थापा र १८ गचे रामजी खाणँको प्रस्तुती रहनेछ।








![फुटपातमा नयाँ नोट [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-3-1792059037.jpg)


