पोखरा बेलुन विस्फोटबारे छानबिन गर्न समिति गठन
आइतबार बिहान गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन्।
काठमाडौं, फागुन ४ : पोखरामा शनिबार भएको बेलुन विस्फोटको घटनाको छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
शनिबर भएको घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।
आइतबार बिहान गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका हुन्।
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य रहेको छ।
समितिमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् भने एक जना विष्फोटक पदार्थ विज्ञ समेत रहने व्यवस्था गरिएको छ।
समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाको के कसरी भयो? त्यसको विस्तृत छानविन र आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ।
शनिबार भएको सो घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घाइते भएका थिए।
शनिबार बेलुकी नै गृहमन्त्री लेखक जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अवस्था बुझ्न अस्पताल पुगेका थिए।












