पूर्वमन्त्री ज्वालालाई प्रधानमन्त्रीको जवाफ– मन्त्री हुँदा काम नगर्ने, कार्यक्रम किन शुरु भएन भनेर प्रश्न सोध्ने?
प्रधानमन्त्री ओलीले सरकारले सडक पूर्वाधार विकासलाई महत्त्व दिएर सोही अनुसार बजेट विनियोजन गरिरहेको पनि बताए।
काठमाडौं, फागुन ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनेक्रममा नेकपा एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रकाश ज्वालालाई ‘भौतिक योजनामन्त्री हुँदा किन काम नगरेको?’ भन्दै प्रतिप्रश्न गरेका छन्।
पूर्वमन्त्री ज्वालाले प्रधानमन्त्री ओलीको अघिल्लो कार्यक्रममा शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरु र पालिका अस्पतालको प्रगति हुन नसकेको बिषयमा प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए।
ज्वालाले राखेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा शिलान्यास गरेलगत्तै आफू प्रधानमन्त्रीबाट हट्नुपरेको भन्दै आफ्नो बचमउ गरे।
‘मैले निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरेर काम सुरु गरेँ। त्यसको केही समयमै सरकार परिवर्तन भयो म बाहिरिएँ । त्यसपछि आउने सरकारले निरन्तरता दिएनन् । निर्माण रोकियो,’ प्रधानमन्त्री ओलीको जवाफ थियो, ‘प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ। तीनवर्ष रद्ध गर्ने अनि कार्यक्रम किन सुरु भएन प्रश्न सोध्ने ? हाम्रो अनौठोको संस्कार छ।’
प्रधानमन्त्री ओलीले सरकारले सडक पूर्वाधार विकासलाई महत्त्व दिएर सोही अनुसार बजेट विनियोजन गरिरहेको पनि बताए। उनले नागढुङ्गा सुरुङमार्ग २०८२ कात्तिकमा सक्ने लक्ष्य रहेकोमा हालसम्म ८५ प्रतिशत प्रगति भइसकेको जानकारी समेत दिए।












