‘नागरिक अधिकार प्रत्याभूत भए नभएको अनुगमन कानुन व्यववसायीले गर्नुपर्छ’
उनले लोकतन्त्रमा नागरिकका अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्ने र नभएको भए आवाज उठाउने धर्म कानुन व्यवसायीको भएको बताए।
काठमाडौं, फागुन ४ : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकका अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्न आवश्यक रहेको बताएका छन्।
आइतबार नेपाल बार एशोसियसनमा आयोजित पाँचौं ल–एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा बोल्दै उनले लोकतन्त्रमा नागरिकका अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्ने र नभएको भए आवाज उठाउने धर्म कानुन व्यवसायीको भएको बताए।
‘जहाँसुकै र जोकोही होस्। कानुन व्यवसायीहरु विधिको शासनको पहरेदार हुन् र लोकतन्त्रको रक्षक हुन्। कुनैपनि किसिमको यातनारहित र स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक दासतायुक्त जीवन रंगभेद लिङ्गभ्दको विरोध, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वास्थ्य जस्ता मानवलाई नहुने अधिकार हुन्,’ उनले भने, ‘लोकतन्त्रमा नागरिकका यी अधिकार राज्यबाट प्रत्याभूत भए नभएको अनुगमन गर्ने र नभएको भए आवाज उठाउने धर्म कानुन व्यवसायीको हो।’
राष्ट्रपति पौडेलले आज लोकतन्त्रप्रतिको नेपालको प्रतिबद्धताले विश्वव्यापी रुपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तराष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको उल्लेख गरे।
‘लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला हो र मौलिक अधिकारहरु यसको जीवनरेखा हुन्। यी असधकारहरुले व्यक्तिलाई मर्यादीत,स्वतन्त्रता,र समानताकासाथ बाच्न सक्ने कुरा सुनिश्चित गर्छ,’ उनले भने, ‘आज लोकतन्त्रप्रतिको नेपालको प्रतिबद्धताले हामीलाई विश्वव्यापी रुपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तराष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको छ।’












