विद्यार्थीहरू सुरुदेखि नै राजनीतिमा लाग्नुपर्छ : अध्यक्ष राउत
उनले राजनीतिमा चासो लिनैपर्ने र नलिई बस्न नसकिने हुँदा राजनीतिमाथि नियन्त्रण गरी जित हासिल गर्नेतर्फ लाग्नुपर्ने बताए।
धुनषा, फागुन ४ : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विद्यार्थीहरुलाई विद्यार्थीकालदेखि नै राजनीतिमा लाग्न आग्रह गरेका छन्।
उनले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था आएको भन्दै विद्यार्थीलाई राजनीतिमा कुनै न कुनै तवरले आवद्ध हुन सुझाव दिए।
विद्यार्थी जनमत संघ धनुषाद्वरा जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले राजनीतिप्रति चासो लिने, राजनीतिलाई नियन्त्रित र निर्धारण गर्ने व्यक्तिले शासन गरिरहने भएकाले राजनीतिलाई समय बिताउने तथा अंशकालीन बनाउने रुचिबाट उब्रिन विद्यार्थीहरूलाई आग्रह गरे।
उनले राजनीतिमा चासो लिनैपर्ने र नलिई बस्न नसकिने हुँदा राजनीतिमाथि नियन्त्रण गरी जित हासिल गर्नेतर्फ लाग्नुपर्ने बताए।
‘यो मस्तिष्कबाट हटाउनुस् कि राजनीति भनेको समय बिताउने काम हो। मन नलागी गर्नेजस्तो अंशकालीन राजनीति गर्ने पनि होइन,’ उलने भने, ‘अलिकता देखिहाल्छु, सुनिहाल्छु भनेर हुँदैन। पूरा दिलबाट लाग्नुस्। अनि जित हासिल हुन्छ । अब्बल मानिस राजनीतिमा लाग्दा मात्र कमसल मानिसको बहिर्गमन हुन्छ।’
अध्यक्ष राउतले राजनीतिले नै सबैथोक निर्धारण गर्ने भएकाले यसमा बहानाबाजीको ठाउँ नरहने औंल्याए।
उनले अखाडामा उत्रिने पहलमानले पिठ्युमा गिट्टीढुङ्गाले घोचेर, चिप्लिएर, अभ्यास नपुगेर वा भोकभोकै आएकाले जित्न नसकेको भन्नुको कुनै अर्थ नरहेको भन्दै त्यहाँ हार्नु भनेको हार्नु र जित्नु भनेको जित्नु रहेकाले चित्त बुझाउने भाषाको प्रयोग गर्न नपर्ने अवस्थामा पुग्नुपर्ने उल्लेख गरे।
चुनावमा समेत एक भोटले वा हजार भोटले जित्नु भनेको जित नै भएकाले नयाँ संगठन, चुनावमा पहिलोपटकको सहभागिता र अनुभवको कमी आदि निहुँ बनाएर जितबाट पन्छिन नमिल्ने भन्दै उनले कुनै हालतमा जित्नुपर्छ भन्ने एकमात्र विकल्प राखेर रणनीति, कार्यक्रम र त्यसअनुसारको मिहिनेत गर्न विद्यार्थीलाई सुझाए।












