Kathmandu Press

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं, वैशाख १६ : केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपा....

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं, वैशाख १६ : केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। उनका अनुसार नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन।

वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ। हाल देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्य पहाडी भूभागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातको समयमा देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

बिहीबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस रहेको छ। (रासस)

 

प्रकाशित मिति: १०:४२ बजे, मंगलबार, वैशाख १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्