‘पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’
‘पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ,’ उनले भने।
चितवन, फागुन ३ : कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताए।
‘पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ,’ उनले भने।
व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने बताउँदै उनले पार्टीलाई बलियो बनाउन व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गरे।
माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ।
एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको डा.महतले बताए।
यस्तै, उनले पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको बताए। ‘पार्टीको १५औं महाधिवेशन केही समय पछि सर्न सक्छ, तयारी केही पुगेको छैन, तयारीका लागि केही समय थप गर्न सकिन्छ,’ उनले भने।
विधानतः एक वर्ष छ महिना थप्न सकिने भए पनि कति समय थप हुन्छ केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ।












