‘भ्रष्टाचारको अन्त्यबिना राष्ट्रिय एकता कायम हुन सक्दैन’
उनले भ्रष्टाचारको अन्त्य र सामाजिक न्याय स्थापनाको लागि देशव्यापी जनमत बलियो बन्दै गएको भन्दै यसको लागि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताए।
मकवानपुर, फागुन ३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको अन्त्य नभएसम्म राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन्।
मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप को उद्घाटन गर्दै उनले भ्रष्टाचारको अन्त्य र सामाजिक न्याय स्थापनाको लागि देशव्यापी जनमत बलियो बन्दै गएको भन्दै यसको लागि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको बताए।
‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिदैन र सामाजिक न्याय स्थापित गरिदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघिबढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ,’ उनले भने, ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु। हाम्रो अभियान सफल बन्दै गएको छ।’
अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध सुशासन, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि बताए।
‘यो सचेतना निकै महत्वपूर्ण छ। हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्ने छौं,’ उनले भने।
नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताए।












