Kathmandu Press

क्यानडा पठाइदिन्छु भनेर १४ जनाबाट ७१ लाख ठगी गर्ने दुई जना पक्राउ

विदेश पठाइदिने भनेर ७१ लाख ठगी गर्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। 
क्यानडा पठाइदिन्छु भनेर १४ जनाबाट ७१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, फागुन २ : विदेश पठाइदिने भनेर ७१ लाख ठगी गर्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको नमोबुद्ध नगरपालिका-४ काफ्लेचोक घर भई काभ्रेको बनेपा बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षका गणेशबहादुर थापा छन्।

उनीहरूले आकर्षक तलबमा काम गर्न क्यानडा, अजरबैजान र मौरिसस लैजाने भनेर १४ जनाबाट ७१ लाख रूपैयाँ ठगी गरेको भक्तपुर प्रहरी परिसरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

युवायुवतीबाट लाखौं रकम लिएपछि उनीहरू फरार भएका थिए।

पीडितहरूको उजुरीका आधारमा माघ ३० गते भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको थियो।

पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा भक्तपुर अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति: १९:४५ बजे, शुक्रबार, फागुन २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्