शोरूमबाट नयाँ गाडी चोरेर भागे, पेट्रोल सकिएसी समातिए
घटनाबारे बिहान साढे ८ बजेमात्रै प्रहरीलाई सूचना पुगेको थियो।
काठमाडौं, फागुन २ : विराटनगरमा एउटा शोरूमबाट नयाँ गाडी चोरेर भागेका युवक पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका-३ एयरपोर्ट मोड दक्षिण काशी राजमार्गको पश्चिममा रहेको पुजा इन्टरनेशनलको शाखा कार्यालय भएको शोरूमबाट शुक्रबार बिहान २ बजे कार चोरी भएको थियो।
चोरीको आरोपमा मोरङको विराटनगर महानगरपालिका-४ का २४ वर्षीय मन्तोषकुमार बिन पक्राउ परेका छन्।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मदन केसीका अनुसार शिशा मात्रै रहेको उक्त सो रुममा मन्तोष बिहान २ बजे सिसा फुटाएर प्रवेश गरेका थिए। त्यसपछि खुला घर्रामा राखिएको गाडीको चाबी लिएर टिगुन मोडलको रातो कार चलाएर फरार भएका थिए। कारमा उनले शोरूमबाटै एउटा ल्यापटप पनि चोरेक थिए।
घटनाबारे बिहान साढे ८ बजेमात्रै प्रहरीलाई सूचना पुगेको थियो।
त्यसपछि परिचालित भएको प्रहरीले साढे १२ बजे सुनसरीको गढी गाउँपालिका-४ स्थित इक्राहीबाट सुनसरीको भोक्राहा जाँदै गरेको रातो कार देखेपछि पिछा गरेको थियो।
कार खोजी गर्न मोरङ प्रहरीले सुनसरी प्रहरीको पनि सहयोग लिएको थियो।
डिएसपी केसीका अनुसार कार भेटिएपछि प्रहरीले मन्तोषलाई पनि सोही क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा कार चोरी गरी भारततर्फ लैजान खोजिएको खुलेको छ। तर पेट्रोल सकिएपछि गाडी रोकेर राखिएको पाइएको डिएसपी केसीले जानकारी दिए।
पक्राउ परेका मन्तोषकुमारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।