Kathmandu Press

अध्यादेश कसैले विरोध गर्दैमा रोकिँदैन: महासचिव पोखरेल

महासचिव पोखरेलले हरेक विषयको विकल्प हुने र अध्यादेश पारित गर्न पनि उपयुक्त विकल्प प्रयोग गरिने धारणा राखे।
अध्यादेश कसैले विरोध गर्दैमा रोकिँदैन: महासचिव पोखरेल

काठमाडौं, फागुन २ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा नरोकिने बताएका छन्।

एमाले विज्ञान तथा प्रविधि विभागले आज यहाँ आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रियामा उनले मुलुकमा सुशासनका लागि अध्यादेश ल्याइएको भन्दै कसैले  विरोध गर्दैमा नरोकिन जिकिर गरे।  

महासचिव पोखरेलले हरेक विषयको विकल्प हुने र अध्यादेश पारित गर्न पनि उपयुक्त विकल्प प्रयोग गरिने धारणा राखे।

'अध्यादेशको विरोध गर्दैमा त्यो कोसिस असफल हुन्छ भन्ने नठाने हुन्छ किनकि प्रमुख पार्टीले सोचेरै यो काम गरिएको हो । त्यस अर्थमा विधेयकलाई जसरी पनि टुग्याउँछौँ,' उनले भने, 'कसैले विरोध गर्दैमा विधेयक रोकिनेवाला छैन । कुनै पनि विकल्प प्रयोग गरेर त्यसलाई पारित गर्छौं।'

सरकारले अध्यादेशका माध्यमबाट सूचना प्रविधि क्षेत्रलाई पनि सम्बोधन गरिएको बताउँदै महासचिव पोखरेलले अध्यादेशमा कानुनको स्पष्ट व्याख्या गरिएकाले नियमावली आवश्यक नपर्ने र आवश्यक परे सरकारले चाँडै त्यो काम पनि अगाडि बढाउने बताए।

'मुलुकमा उत्पादनको सम्भावना हेरेर सूचना प्रविधिमा मात्र विदेशमा लगानी गर्न दिएको हो । सूचना प्रविधि क्षेत्रमा कानुन अभावले केही समस्या भए पार्टीमार्फत सरकारसमक्ष सुधारको प्रक्रिया अगाडि बढाउँछौँ । अध्यादेशले सुधारका लागि पहल गरेको छ,' उनले भने। 

कार्यक्रममा विभागका प्रमुख टङ्क कार्कीले सूचना प्रविधिमा भएका अस्पष्ट कानुनलाई सरकारले संशोधन गर्नुपर्ने बताए।

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, फागुन २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्