Kathmandu Press

एनआरएनएको नयाँ सदस्यता तथा सदस्यता नवीकरण खुल्ला

एनआरएनएका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घलेले गैरआवासीय नेपालीहरूलाई सदस्यता लिन आग्रह गरेका छन्। 
एनआरएनएको नयाँ सदस्यता तथा सदस्यता नवीकरण खुल्ला

काठमाडौं, फागुन २ : सर्वोच्च अदालतको गत चैत्र २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले सदस्यता वितरण लगायतका कार्यहरू सहज बनाउन आफ्नै वेबसाइट सार्वजनिक गरेको छ।

नयाँ वेबसाइट www.nrnahlc.com मार्फत गैरआवासीय नेपालीहरूलाई सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। सदस्यताका लागि आवेदन दिने अन्तिम मिति २८ फेब्रुअरी २०२५ तोकिएको छ । यद्यपि आवश्यक परे उच्चस्तरीय समितिले उक्त मिति थप गर्न सक्नेछ।

Hardik ivf

एनआरएनए सदस्यता शुल्क सम्बन्धित राष्ट्रिय समन्वय परिषद् (एनसीसी)ले तोकेको दरअनुसार निर्धारण गरिनेछ। एनसीसी नभएका देशमा भने उच्चस्तरीय समितिले शुल्क निर्धारण गर्नेछ। नयाँ सदस्य तथा नवीकरण गराएका सदस्यहरूले ३–५ मे, २०२५ मा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन सक्नेछन्। 

महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क समितिले तोकेको दरअनुसार हुने छ। इच्छुक व्यक्तिहरूका लागि समितिले १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवेदन खुला गर्ने जनाइएको छ।

एनआरएनएका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घलेले गैरआवासीय नेपालीहरूलाई सदस्यता लिन आग्रह गरेका छन्। 

‘नोभेम्बर २०२४ यता बसेका उच्चस्तरीय समितिका बैठकहरूको निर्णयअनुसार हामीले सदस्यता खुला गरेका छौं। यस पटक सम्पूर्ण सदस्यहरूले प्रत्यक्ष रूपमा काठमाडौंमा भेला भएर अन्तर्राष्ट्रिय समिति चुन्ने ऐतिहासिक अवसर पाउनेछन्,’ उनले भने, ‘त्यसैले, गैरआवासीय नेपाली संघलाई एकताबद्ध गर्न सबैलाई सदस्यता लिन अपिल गर्दछु।’

मेमा आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनले एनआरएनएमा निष्पक्षता, पारदर्शिता तथा प्रजातान्त्रिक सुशासन सुनिश्चित गर्ने बताउँदै उनले नयाँ विधान तथा नेतृत्व निर्माण गर्न हामी सबैले महाधिवेशनलाई उत्सवको रूपमा मनाउनु आवश्यक रहेको बताए।

सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिले विवाद समाधान गर्दै एनआरएनएको वैधानिक कार्यसमिति निर्माण गर्ने लक्ष्य लिएको छ। समितिले आफ्नो कार्य सम्पादन गर्दा निष्पक्षता, प्राकृतिक न्याय, कानूनी शासन तथा निष्पक्ष निर्वाचनका सिद्धान्तहरूलाई आत्मसात गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: ११:३२ बजे, शुक्रबार, फागुन २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्