Kathmandu Press

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

आज एक सन्देश जारी गर्दै उनले देशमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको तथा त्यसमा जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका हुन् । 
नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

काठमाडौँ, फागुन १ :

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन्।

Hardik ivf

एक सन्देश जारी गर्दै उनले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका छन्।

यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिता सहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाइ व्यवस्थित गर्न आवश्यक भएको महसुस गरे पछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उनले बताए।

‘हामीले हाम्रा स्वास्थ्य संस्थाहरुमा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्नहरु गरिरहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ’साथसाथै निरोधात्मक विधि अन्र्तगत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ।’

मन्त्री पौडेलले यसैलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानका रुपमा संचालन गर्ने निर्णय गरेको बताएका छन्। 

यो अभियानमा नेपालभित्र बसोबास गर्ने ३० वर्षभन्दा माथिका नागरिकहरुलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग एवम् शरीरको उचाई र तौलको अनुपात समयमै पहिचान गरि उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखेर फागुन महिनाभर अभियान थालिएको बताएका छन्।

मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने भएको छ। मन्त्री पौडेलले नेपालमा नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो सबैमा सन्देशमार्फत अपिलसमेत गरेका छन्।

प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, फागुन १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्