व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौं : प्रचण्ड
उनले महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन नसकेको, संघीयता अझै संस्थागत भइनसकेको उल्लेख गर्दै समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्।-1739422866.jpg)
काठमाडौं, फागुन १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले २०५२ सालमा सुरु गरेको संघर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भइनसकेको बताएका छन्।
माओवादीले संघर्ष सुरु गरेको ३०औं वर्षगाँठको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै रहेको उल्लेख गरेका छन्।
‘आजको दिन हामीले के हासिल गर्यौं र के गर्न बाँकी छ भन्ने समीक्षाको दिन पनि हो। इतिहासमै पहिलोपटक युगौँदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारु, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीवासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता आफ्ना अधिकारको रक्षाका लागि संघर्षमा होमिए,’ उनले भनेका छन्, ‘जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं। राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन। त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौँ।’
उनले महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन नसकेको, संघीयता अझै संस्थागत भइनसकेको उल्लेख गर्दै समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्।
२०५२ साल फागुन १ गतेलाई नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन भनेर स्मरण गर्दै दाहालले नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि संकल्प गर्ने दिन भएको जनाएका छन्।












