भूमिसहित सबै अध्यादेश सदनबाट पारित हुने सञ्चारमन्त्रीको दाबी
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भूमिसहित सबै अध्यादेश सदनबाट पारित हुने दाबी गरेका छन् ।
काठमाडौं, माघ ३० : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भूमिसहित सबै अध्यादेश सदनबाट पारित हुने दाबी गरेका छन् ।
सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले उक्त दाबी गरेका हुन् । मन्त्री गुरुङले भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्लामात्रै भएको बताए।
‘जनता समाजवादी पार्टी (जसपा) नेपालले यसबारे कुनै आधिकारिक निर्णय गरेको छैन। अध्यादेशमा सहमति खोज्न दलहरूसँग छलफल भइरहेको छ । अध्यादेश संक्रमणकालीन अवस्थामा नै छ,’ उनले भने ।
मन्त्री गुरुङले माघ २८ गते बसेको मन्त्रिपरिषद्ले सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ लाई खारेज गर्ने निर्णय गरेको जनकारी पनि दिए।
मन्त्री गुरुङक अनुसार मन्त्रिपरिषद्ले पहिरो रोकथामसम्बन्धी परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
यसैगरी ६७० मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थासम्बन्धी पूर्वतयारी अघि बढाउन सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय समेत भएको छ।












