अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न स्वदेश फर्किइन् एन्जिला, साम्बा र रेखा पौडेल केही दिनमा आउने

काठमाडौं, ३० माघः चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाा आज स्वदेश फर्किएकी छिन् ।
आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि व्यावसायिक फुटबल खेल्न ग्रिस पुगेकी तुम्बापो आज काठमाडौं आइपुगेकी हुन् । ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट उनी खेल्दै आएकी छिन् ।
यसैगरी व्यावसायिक फुटबल खेल्न फ्रान्समा रहेकी सावित्रा भण्डारी ‘साम्बा’ र साउदीमा रहेकी रेखा पौडेल केही दिनभित्र आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले जानकारी दिए। पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहनेछ ।
उक्त प्रतियोगिताको टिकेटिङ राइट एक करोड ३५ लाख र ब्रोडकास्टिङ राइट रु ६६ लाखमा बिक्री गरिएको एन्फाले जनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर भिआइपीतर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ रु पाँच सय तोकिएको छ।