Kathmandu Press

ग्यास उद्योगीको आन्दोलन स्थगन

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौं, माघ ३० : नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गरेको हो।

‍उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलमा संघले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ।

Hardik ivf

सङ्घले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले निगम र सङ्घका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए। उनले सङ्घले राखेकामध्ये जायज माग सम्बोधन गर्ने आश्वासन दिए।

संघले लागतअनुसार बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो। सङ्घले छ वर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राख्दै आएको छ।

मन्त्रालयले केही समय पहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको थियो।

समितिले पेस गरेको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले सङ्घको आन्दोलन १५ दिनका लागि स्थगित गरिएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

प्रकाशित मिति: १७:१० बजे, बुधबार, माघ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्